अस्पताललाई सुविधा सम्पन्न बनाउँछु : मुख्यमन्त्री भट्ट



नेपाल समाचारपत्र, डोटी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाइ सुदूरपश्चिमको पहाडी जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाउने बताउनु भएको छ। बुधबार जिल्ला अस्पताल डोटीको निरीक्षण भ्रमण गर्नुहुँदै मुख्यमन्त्री भट्टले सोकुरा बताउनुभएको हो।

निरीक्षण भ्रमणका क्रममा मुख्यमन्त्री भट्टले जिल्ला अस्पतालमा विभिन्न सेवा सुविधा थप गरी पहाडी जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाउने बताउनुभयो।

‘जिल्ला अस्पतालमा थप सेवा सुविधासहित नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने तयारीमा छौं’, उहाँले भन्नुभयो– ‘अस्पताल चा”डै सुविधा सम्पन्न हुनेछ।’

त्यसैगरी सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री कृष्णराज सुबेदीले जिल्ला अस्पतालमा नयाँ चिकित्सकसहित थप सेवा प्रवाहका लागि अस्पतालको स्तरोन्नति गरिने बताउनुभयो। ‘हामी अस्पतालको स्तरोन्नतिका लागि लागिरहेका छौं’, उहाँले भन्नुभयो– ‘नयाँ थप चिकित्सकसहित संरचना पनि नयाँ निर्माण गरिने छ।’

जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा स्वास्थ्य सेवामा नागरिकलाई समस्या भइरहेको जनगुनासो बढेपछि बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीले संयुक्तरूपमा अस्पतालको निरीक्षण गर्नुभएको हो।

निरीक्षणका क्रममा उहाँहरूले अस्पतालको अप्रेसन थिएटर, अस्पतालमा जडान भएका उपकरण तथा अस्पतालमा भर्ना भएका बिरामीको बारेमा जानकारी लिनुभएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो।

उता जिल्ला अस्पताल डोटीसहित जिल्लाभरमा पछिल्लो समय जिल्लाका स्वास्थ्य संस्थाहरूमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन्। जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लाका ९ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कुल ३ सय ८ दरबन्दीमध्ये हाल २ सय ६७ मात्रै पदपूर्ति रहेको छ।

सबैभन्दा बढी रिक्त दरबन्दी बोगटान फुङ्सिल गाउँपालिकामा करिब ३० प्रतिशत, जोरायल गाउँपालिकामा दरबन्दीको ७३ दशमलव ६० प्रतिशत, पूूर्वीचौकी गाउँपालिकामा २२ प्रतिशत, बडीकेदार गाउँपालिकामा ८ प्रतिशत, आदर्श गाउँपालिकामा ७ प्रतिशत, शिखर नगरपालिकामा ७ प्रतिशत र केआईसिंह गाउँपालिकामा ३ प्रतिशत स्वास्थ्यकर्मीको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो।

दीपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकामा भने दरबन्दी अनुसारका स्वास्थ्यकर्मी कायम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

चिकित्सक समायोजनमा डोटीबाट अन्त रोज्नेको सङ्ख्या धेरै भएको र डोटी आउनेको सङ्ख्या कमी भएका कारण जिल्लामा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो।

‘समायोजनमा डोटी रोज्ने कमी भएका र जाने बढी भएकाले समस्या भएको हो’, उहाँले भन्नुभयो– ‘चिकित्सक अभाव हुँदा समस्या हुन थालेको छ।’ कर्मचारी समायोजनमा परेका सबै चिकित्सकले रमाना लिई नसकेको हुँदा अहिले नै कति दरबन्दी रिक्त भए भन्न गाह्रो भएकोे जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

जिल्लामा स्वास्थ्यकर्मी अभाव भएसँगै स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या हुँदै आएको बडीकेदार गाउँपालिका–१ का स्थानीय रोजबहादुर कलेलले बताउनुभयो। ‘स्वास्थ्य संस्थामा चिकित्सक छैनन्’, उहाँले भन्नुभयो– ‘उपचार गर्नका लागि पनि कैलाली, कञ्चनपुर जानुपर्ने अवस्था आएको छ।’

प्रतिक्रिया दिनुहोस्