१ नम्बर प्रदेशमा अख्तियारको स्ट्रिङ अप्रेसन, ५६ जना रङ्गेहात समातिए



सरोज यादव, विराटनगर ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुशनधान आयोगले साढे २ वर्षमा प्रदेश १ का १४ जिल्लामा ४५ वटा स्टिङ अप्रेसन गरेर ५७ जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि पुस २८ गतेसम्म प्रदेश १ का विभिन्न स्थानमा ११ वटा स्टिङ अप्रेसन गरेर १३ जनालाई घूसहित रङ्गेहात पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार पुस महिनामा मात्र तीन जना घूस रकमसहित रङ्गेहात पक्राउ परेको उहाँले बताउनुभयो । अख्तियारले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार प्रदेश १ का १४ जिल्लाबाट दुई वर्षमा ३४ वटा स्टिङ अप्रेसन गरेर ४४ जनालाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा घूस रकमसहित रङ्गेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन गरेकोमा २४ जनालाई रङ्गेहात पक्राउ गरेको ढकालले जानकारी दिनुभयो । घूससहित रङ्गेहात पक्राउ पर्नेमा सरकारी कर्मचारी, प्रहरी र चिकित्सकहरू छन् ।

अख्तियारको अभिलेखअनुसार घूस रकमसहित रङ्गेहात पक्राउ पर्नेको सङ्ख्यामा वृद्धि भएको छ । आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४ र ०७५ मा १६ वटा स्टिङ अप्रेसन गरेकोमा २० जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको देखिन्छ ।

जुन अघिल्लो आर्थिक वर्षभन्दा ४ जना बढी हो । इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा जम्मा १ हजार ७ सय ८६ वटा उजुरी दर्ता भएकामध्ये ९ सय २१ वटा फछ्र्यौट भएको छ । जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको आयोगले जनाएको छ ।

प्रारम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो । देशभरिमा जम्मा २४ हजार ८५ वटा उजुरी दर्ता भएकामध्ये १५ हजार ५ सय २६ वटा मुद्दा फछ्र्यौट र चालू आर्थिक वर्षमा ८ हजार ५ सय ५८ वटा जिम्मेवारी सरेर आएको अख्तियार दुरुपयोग अनुन्धान आयोग टङ्गालका सह–सचिव रविलाल पन्थले जानकारी दिए ।

आर्थिक वर्ष अख्तियारले विशेष अदालतमा ३ सय ५१ वटा मुद्दा दर्ता गरेकोमा ८ सय ९४ जनालाई प्रतिवादी बनाएको प्रतिवेदनमा उल्लेख छ । जसमा ४ अर्ब ५ करोड ३७ लाख ६३ हजार ८ सय ८८ रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

१ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई अख्तियारले वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेश प्रमुख प्यासीलाई वार्षिक प्रतिवेदन बुझाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव रविनलाल पन्थले प्रदेश प्रमुख प्यासीलाई आर्थिक वर्ष २०७५÷७६ को २९ औँ वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्