पारिश्रामिक नपाएको विरोधमा सडक कालोपत्रेको काम ठप्प



नेपाल समाचारपत्र, खोटाङ।

२२ किलोमिटर लामो महुरे–राजापानी–सिमपानी सडक कालोपत्रे गर्ने कामदारले पारिश्रामिक नपाएको भन्दै विरोधमा काम ठप्प पारेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङ्टार सडक खण्ड अन्तर्गत कालोपत्रेको काममा खटिएका कामदारले ज्याला नपाएको विरोधमा काम रोकेका हुन्।

जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज बनाएका थिए।

तर सम्झौता अनुसारको भुक्तानी नदिएपछि विरोधमा काम रोक्नुपरेको कामदारले बताएका छन्। महुरेदेखि राजापानी–सिमपानीसम्मको सडक कालोपत्रेको काम रोकेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताउनुभयो।

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१३, १४ र १५ हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको विजयखर्कको मालामा पुस २१ गते भएको भेलाले काम ठप्प बनाउने निर्णय गरेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

आक्रोशित कामदारले निर्माण कम्पनीको ६ वटा टिफर, १ वटा पानी ट्याङ्कर, २ वटा स्काभेटर, १ वटा बोलेरो र १ वटा व्याकहोलोडरको साँचो नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएको प्रहरीले जनाएको छ।

लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल व्यवसायी, खाद्य तथा किराना पसल, पेट्रोल पम्पलगायतको उधारो रकमसमेत नतिरेको बताइएको छ।
भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीका साइड–इन्चार्ज पुष्प शाहीसँग सम्पर्क हुन् सकेको छैन।

प्रतिक्रिया दिनुहोस्