नेटवर्किङ बिजनेसको जालोमा युवायुवती



चिरञ्जीवी मास्के, दोलखा।

विगु गाँउपालिका–८ भोटेचाँगुका पुष्कर थामी अहिले बिरामी हुनुहुन्छ। रोजगारीको प्रलोभनमा नेटवर्किङ विजनेशको जालोमा फँसेका उहाँ बुबाले दुःख गरेर कमाएको एक लाख रुपियाँ आफ्नो कारणले डुबेको थाहा पाएपछि मानसिक बिरामी हुनुभएको हो ।

सदरमुकाम चरिकोटको आइसल्याण्ड मल्टी एकेडेमीबाट १८ महिने सर्बेक्षक(अमिन) कोर्ष पुरा गरेर बेरोजगार बसेका १९ वर्षीय पुष्करलाई कलेजमा सँगै पढ्ने ओखलढुङ्गाका इन्द्र खड्काले झापाको विर्तामोडमा रोजगारीको अवसर छ भनेर बोलाएका थिए।

रोजगारीको प्रलोभनमा परेर उहाँ मंसिर ३ गते झापा जानुभएको थियो। उहाँका साथीले उहाँलाई झापा हँुदै भारतको सिलगुढी बोलाए। झापा हँुदै सिलगुडी पुगेका पुष्करले रोजगारी त पाउनुभएन नेटवर्किङ विजनेशको जालोमा फँसेपछि पैसा डुबाएर बिरामी भई घर फर्किएको उहाँका बुबा शुक्र थामीले बताउनुभयो।

पुष्करका बुबाले भन्नु भयो ‘छोरा रोजगारीको लागि भनेर झापा पुगेपछि नापी सम्बन्धी कामको लागि आवश्यक पर्ने सामान किन्न भनेर एक लाख रुपियाँ मागेको र आफूले सिँगटीबाट आईएमई गरेर मंसिर २२ गते एक लाख पठाएको बताउनुभयो।’

‘छोरा झापा जाने भनेर भारतको सिलगुढी पुगेको रहेछ मलाई त्यसबारे जानकारी थिएन्,’ शुक्रले भन्नुभयो– ‘छोराले कामको लागि सामान आवश्यक भयो भनेर पैसा मागेपछि मासिक तीन हजार ब्याज दिने गरी ऋण लिएर एक लाख रुपियाँ आईएमई गरेर पठाएँ तर छोरा त रोग बोकेर आयो।’

छोरा मंसिर २९ गते बिरामी भएर घर फर्किएको र त्यतिबेला छोराले आफू सिलगुढी छु भनेर नभनेको उहाँका बुबाले बताउनुभयो। त्यतिबेला एकहप्ता घर बसेर ठिक भएपछि पुष ६ गते काम गर्न जान्छु भनेर पुनः उतै फर्किएको थियो तर पुस १३ गते त पूर्ण रूपमा मानसिक रोगी भएर आयो शुक्रले भन्नुभयो।

पछिल्लो पटक मानसिक बिरामी भएर फर्किए पछिमात्र आफूले छोरा झापा जान्छु भनेर सिलगुढी पुगेको र आफूले पठाएको एक लाख पनि नेटवर्किङ विजनेश गर्नेले ठगेको थाहा पाएको शुक्रले बताउनुभयो।

पुष १३ गते बिरामी भएर फर्किएको पुष्करलाई झण्डै १० दिन चरिकोटको प्रस्तावित चरिकोट अस्पतालमा राखेर मानसिक रोगको उपचार गरेपछि अहिले केही ठिक भएको बुबा शुक्रले बताउनुभयो। ‘त्यतिबेला आउँदा त नाङ्गै हिड्ने, लुगा च्यात्ने, मोवाईल फुटाउने गथ्र्यो,’ शुक्रले भन्नुभयो–‘अहिले उपचार पछि निक्कै राम्रो भएको छ।’

पुष्करले पनि बुबाले दुःखसँग ऋण गरेर पठाएको पैसा डुबेको थाहा पाएपछि आफूमा मानसिक समस्या भएको तर अहिले बुबा–आमा सबैको मायाले ठिक भएको बताउनुभयो। अब आफू त्यसरी नठगिने र अरुलाई पनि सचेत गराउने पुष्कर बताउछन्।

सिलगुढीमा रहेको ओरियन्ट ग्लोबल मार्केटिङ प्रालिमा रहेका इन्द्र श्रेष्ठजस्ता केहीले आफूलगायत अरु धेरै बेरोजगार युवायुवतीलाई ठूलाठूला सपना देखाएर बोलाउने गरेको र शुरुमा तीन दिनको नेटवसर्किङ सम्बन्धी कक्षा लिने गरेको पुष्करले जानकारी दिनुभयो।

तीन दिनको कक्षा पछि एक लाख माग्ने र अरु दुई जनालाई सदस्य बनाएर बोलाएपछि प्रत्येक हप्ता कमिसन बापत पैसा आउने लालच देखाउने उहाँ बताउनुहुन्छ। उनीहरूले पाँच वर्षको अवधिमा दुई करोड भन्दा बढी कमाई हुने, विदेश जान पाइने, कार चढ्न पाइनेजस्ता लालच देखाउने गरेको पुष्करको भनाइ छ। सिलगुढीमा दोलखाका मात्र पचास भन्दा बढी युवायुवती रहेको पुष्करले बताउनुभयो।

उनीहरू शुरुमा रोजगारीको प्रलोभनमा परेर पैसा डुबाएको र पछि आफ्नो पैसा उठ्छकी भनेर बाध्य भएर त्यतै बसेको पुष्कर बताउछन्। उनीहरू मध्येकै धेरैले दोलखाका अन्य युवालाई रोजगारीको प्रलोभन देखाएर बोलाउने गरेको पुष्करको भनाई छ।

पुष्करको बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा नेटवर्किङ व्यवसायको नाममा आफ्नो छोरालाई ठगि गरेको र मानसिक पीडा दिएको भन्दै उजुरी गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल नेटवर्किङ विजनेशको नाममा भएको ठगिको विषयमा उजुरी आएको र त्यसबारे प्रहरीले अनुसन्धान थालेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्