हेलिप्याड निर्माण



रुकुम, (नेस) ।

स्यार्पूताल छेउमा हेलिप्याड निर्माण गरिएको छ। विपत्को समयमा आकस्मिक उद्दार गर्न सजिलोका लागि बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो।

हेलिप्याड निर्माण कार्य सम्पन्न भएपछि सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त हेलिप्याडको उद्घाटन गर्नुका साथै गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। हेलिप्याड निर्माणका लागि गाउँपालिकाले निर्माण सामाग्री खरिद गरेको र नेपाली सेनाले इन्जिनियरिङ तथा ज्यामीको काम गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो।

विपत् व्यवस्थापन र उद्धारका लागि हेलिप्याड आवश्यक देखिएकोले नेपाली सेनाको सल्ले स्थित नरसिंह दल गणसँगको समन्वयमा यो काम गरिएको उहाँले बताउनुभयो।

जटिल प्रकृतिका प्रसूतिसम्बन्धीका बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा यस हेलिप्याडले सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ।

हेलिप्याड निर्माणका लागि करिब तीन लाख रुपियाँबराबरको सामाग्री र दैनिक ५० जनाका दरले ७ दिनको श्रमदानपछि हेलिप्याड निर्माण भएको नरसिंह दल गणका गणपति दिनेश गौतमले बताउनुभयो।

नेपाली सेनाले विभिन्न समयमा यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धीका क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।हेलिप्याड उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाँफिकोट गाउँपालिकाका उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्