‘ट्रिपर चालक’लाई शपथ



नेपाल समाचारपत्र, काभ्रे।

बागमती ट्रिपर व्यवसायी संघ बनेपाले चालकहरूलाई ईश्वरका नाममा १० बुँदे शपथ गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको समन्वयमा बागमती ट्रिपर व्यवसायी संघमा आबद्ध ट्रिपर चालकहरूलाई शपथ गराइएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल लामाले पहिलो चरणमा ४० जना चालकलाई शपथ गराउनुभएको हो। बागमती ट्रिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले आफूले आफैलाई सचेत गराउन चालक स्वयंलाई लिखित शपथ गराइएको बताउनुभयो।

चालकले १०बुँदे शपथमा मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा संगीतको उफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्र्किङ नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने रहेका छन्।

त्यस्तै अभोरलोड सामान नबोक्ने, गाडी चलाउनुअघि गाडीको चेक जाँच गर्ने, क्याबिन र ढालामा यात्रु नराख्ने, तीव्र गतिमा गाडी नचलाउने, गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिने, गाडीको कागजपत्र सधंै साथमा राख्ने, ट्राफिक नियमको पालना गर्ने र भिजिट नेपाल २०२० को प्रचार प्रसारका लागि गाडीमा स्टिकर टाँस्ने शपथ गराइएको थियो।

‘ट्रिपर सञ्चालनमा अनेकन समस्या छन्’, अध्यक्ष लामाले भन्नुभयो– ‘समस्याका बाबजुद चालकहरूद्वारा हुने दुर्घटना न्यूनीकरणका लागि यो प्रयास गरिएको हो।’ राजधानीमा दिउँसो ट्रिपर सञ्चालनमा रोक लगाइएको छ। रात्रिकालीन सेवाका कारण चालकहरूको खाना, सुत्ने र पारिवारिकरूपमा पनि समस्या बढ्दै गएको अध्यक्ष लामाले बताउनुभयो।

सडक पहिलो सभ्यताको आधार भएकाले सडकको सरसफाइ, सुरक्षा, सभ्यता, अनुशासन कायम राख्न व्यवसायी र चालकहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। जिल्लाबाट २ हजार २ सय ट्रिपर दैनिक राजधानीका लागि ओहोरदोहोर गरिरहेका हुन्छन्।

बागमती ट्रिपरसँग आबद्ध रहेका १ हजार चालकलाई शपथ गराउँदै भिजिट नेपाल २०२० को प्रचार प्रसार गराउने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो।कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सडकमा सञ्चालन हुने सवारी साधनको चापका कारण दुर्घटना बढ्दै गएको बताउँदै चालकलाई अझै संयमता अपनाउँदै सवारी सञ्चालनका लागि अनुरोध गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सवारी साधन सञ्चालन गर्दा सामान्य विषयमा ध्यान दिन सके दुर्घटनाबाट जोगिन सक्ने बताउनुभयो। प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले चालकले सवारी नियम उल्लंघन नगर्दा दुर्घटनामा न्यूनीकरण आउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्