छाउगोठ भत्काउन प्रहरीको सक्रियता



नेपाल समाचारपत्र, बाजुरा।

स्थानीय तहमा ‘छाउपडी प्रथा’ हटाउन गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिरहेका बेला बडिमालिका नगरपालिकाका आइतबार दिउसो पाँचओटा छाउगोठ भत्काइएका छन्। बाजुराका चर्चित रतुडा देवताको मन्दिर आसपासमा निर्माण गरिएका सामूहिक छाउगोठ भत्काइएका हुन्।

बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले छाउगोठ भत्काएको हो।

‘महिलाहरू अलग्गै छाउगोठमा बस्दा बलात्कार, महिला हिंसा, बाल मृत्युदर बढेको छ’, उहाँले भन्नुभयो– ‘रजश्वला भएकै कारण समाजबाट हेपिनुपरेकाले छाउपडीमुक्त नेपाल घोषण गर्ने अभियानअन्तर्गत बाजुरामा पनि छाउगोठ भत्काउन अभियान सञ्चालन गरेका छौं।’

सामूहिकरूपमा निर्माण गरिएका छाउगोठ स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयबासीलाई सम्झाईबुझाई गरी गोठ भत्काएको र अब घरकै कोठामा राख्ने सहमति स्थानीले गरेको प्रहरी निरीक्षक रोकायाले बताउनुभयो।

रजश्वला भएको समयमा परिवारका सदस्यसँगै बसेर लापरबाही गरेमा देवीदेउता रिसाउने भएकाले छाउगोठ बस्न बाध्य भएकाले अबदेखि घरमै बस्ने स्थानीयको सहमतीपछि गाउँमा रहेका सबै छाउगोठ भत्तकाइएको बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले बताउनुभयो।

रतुडाका ५० परिवारले सामूहिकरूपमा बनाएका ५ ओटा छाउगोठ नेपाल प्रहरी र स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। उक्त ठाउँमा रहेका दलबहादुर ऐडी, गोल चदारा, प्रकाश ऐडी, लालबहादुर ऐडी र बिन्दा कठायतको सामूहिक छाउपडी गोठ भत्काएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिनुभयो।

छाउगोठमुक्त बाजुरा बनाउन यति बेला प्रत्येक गाउँमा प्रहरी पठाएर जनप्रतिनिधि तथा स्थानीयलाई सम्झाई छाउगोठ भत्काइएको बताइएको छ। प्रहरीका अनुसार हालसम्म २० बढी छाउगोठ भत्काइएका छन्।

छाउपडी प्रथाविरुद्ध जनचेतना फैलाउन बुढिगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले सेनेटरी प्याड, साबुन, स्याम्पु र न्यानो कपडासहित आवश्यक सुरक्षित सामान बोकेर आफै गाउँ गई गत साता जनचेताना फैलाउनुभएको थियो।

त्यसै गरी पहिले मान्छेका मन जित्ने त्यसपछि गोठ भत्काउने अभियान सञ्चालन गर्ने बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताउनुभयो।

बडिमालिका नगरपालिका–८ मा धार्मिकस्थलहरू रतुडो बढी चर्चित भएकाले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका–८ रतुडाकी काली ऐडीको तर्क छ। यद्यपि देवीदेउता मान्नु स्वाभाविक भए पनि छाउगोठमा बस्नु गलत प्रथा भएको महसुस स्थानीय विन्दाले गर्नुभयो।

रतुडामा जनप्रकाश आधारभूत विद्यालय छ।उक्त विद्यालयमा पढाउने शिक्षिका छाउ भएको पाँच दिनसम्म विद्यालय नजाने गरेको स्थानीयले बताउँछन्।

मुलुकी आचार संहिता ऐन २०७४ अनुसार सामाजिक भेदभाव गरे तीन महिना कैद र तीन हजार रुपियाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्