७२ चोर पक्राउ



नेपाल समाचारपत्र, बुटवल।

बुटवल प्रहरीले विगत ६ महिनाको अवधिमा ७२ जना चोर पक्राउ गरी मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले चोरीविरुद्ध विशेष अभियान सञ्चालन गरेको थियो।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले यस क्षेत्रमा चोरी नियन्त्रण गर्न अभियान सञ्चालन गरेको र ६ महिनाको अवधिमा ७२ जना विभिन्न प्रकृतिका चोर पक्राउ गरी कारबाहीका लागि मुद्दा दर्ता गरेको बताउनुभयो।

त्यस्तै प्रहरीले विगत चार महिनाको अवधिमा कार्यालयमा मोबाइल फोन हराएको भनी निवेदन दिएका १६ जनाको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा विराटनगर, वीरगन्ज, तनहुँ, कपिलवस्तु, बुटवल र सीमावर्ती क्षेत्रबाट करिब पाँच लाख मूल्य बराबरका १६ थान मोबाइल सेट मोबाइल धनीलाई हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो।

त्यस्तै यही पुस १६ गते बुटवल १२ तामनगरस्थित अर्घाखाँची मनकामना मोबाइल पसलको ताला फोडी चोरी गरेका दुई जनालाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रहरीले बुटवल–३ का रमेश लम्साल, वडा नम्बर ६ का शिव पोखरेल, वडा नम्बर ७ का सुस्मिता शाही, सपना सुवेदी, वडा नम्बर १० की प्रश्ना केसी, वडा नम्बर ११ का तुलबहादुर सेजवाल, आशा सुनार, शान्ति घर्ती, १३ का रमेश खत्री, सैनामैना–२ की खगीकुमारी रेश्मी, तिलोत्तमा–२ का खिमप्रसाद शर्मा, ७ का प्रवीण कार्की, सुनवल–६ की माया पौडेल, देवदह–९ का सन्दीप शाही र अर्घाखाँची मालारानी–३ का विशाल केसीको मोर्बाल फेला पारी बुझाएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्