छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु



नेपाल समाचारपत्र, काभ्रे।

हिउँदे झरीका कारण बिहीबार एकै दिन भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच मारिएका छन्। नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित बिपी राजमार्गमा ट्रिपर दुर्घटना हुँदा दुई जना मारिएका छन्।

रोशी गाउँपालिका–९ पानान्चेमा भएको दूध बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एक जना मारिएका छन् भने पनौती नगरपालिका–११ थुम्कीमा भएको स्काभेटर दुर्घटनामा दुई जना मारिएको प्रहरीले जानकारी दिएको छ। जिल्लामा दैनिकजसो सवारी दुर्घटनामा मारिने क्रम बढेको छ।

बिहीबार पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्क – ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा सडकबाट अन्दाजी ३ सय मिटर तल सलान्दु खोलामा खसेर दुर्घटना भएको थियो। स्काभेटर चालक भीरमा अड्किएका थिए। स्थानीय र प्रहरीसहितको टोलीले घाईतेको उद्धार गरी उपचारार्थ धुलीखेल अस्पताल पठाइएको थियो।

स्काभेटरमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। स्काभेटर चालक पनौती नगरपालिका–७ बस्ने वर्ष २७ का जीवन ताम्राकारको टाउको मुख र हातमा चोट लागेको छ। उक्त स्काभेटरमा सवार पनौती ११ का १६ वर्षीय राउत केसी. र सिन्धुपाल्चोक जिल्ला घर भई दिदीको घरमा पनौतीमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमै निधन भएको थियो।

बिहीबार दिउँसो सवा ११ बजे रोशी गाउँपालिका–९ पानान्चेको भित्री सडक खण्डमा देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नम्बरको बोलेरो गाडी सडकबाट एक सय मिटर तल खसी दुर्घटना भएको थियो।

बोलेरो गाडीमा सवार १२ वर्षीय अनील राना मगरको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता दीपक गिरीले बताउनुभयो। दुर्घटनामा परी केही घाइते भएका छन्।

बिहीबार दिउँसो साढे १२ बजे नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडास्थित बिपी राजमार्गमा धुलिखेलबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको वोल्र्डवाइल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी आइचर टिफर अनियन्त्रित भई सडकबाट २ सय ५० फिट तल खसी दुर्घटना भएको थियो।

दुर्घटनामा परी मकवानपुर टिस्टुङपालुङ घर भएका २३ वर्षीय चालक आस्विन विष्ट र विशाल खड्का दुवैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्