बजार प्रवद्र्धन गर्न कृषि प्रदर्शनी



सलिम अन्सारी, प्युठान।

स्थानीय कृषकले उत्पादन गरेका कृषि एवं पशुजन्य कृषि उपजका सामग्रीको बजार प्रवद्र्धन गर्न स्वर्गद्वारी नगरपालिकाले कृषि तथा पशु प्रदर्शनी मेला गरेको छ। भिंग्री बजारमा आयोजित प्रदर्शनीमा स्थानीय १ सय १० जना कृषकले आफ्नो कृषि उत्पादन एवं पशु र कृषि सामाग्री प्रदर्शनीमा राखेका थिए।

नगरपालिकाका ९ वटै वडाबाट अगुवा किसानहरू प्रदर्शनीमा सहभागिता जनाएका थिए। जसमध्ये उत्कृष्टताका आधारमा विभिन्न विधाका ३ दर्जन बढी कृषकलाई नगदसहित पुरस्कृत गरिएको छ। विजेता कृषकलाई स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले पुरस्कार प्रदान गर्नुभयो ।

आयोजकका अनुसार पुरस्कार वितरणका लागि १ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो। कृषकका उत्पादन र पशुको बजारीकरण तथा व्यवसायिक खेतीलाई उत्साह दिने उद्देश्यले विगत वर्षदेखि नै कृषि तथा पशु प्रदर्शनी मेला गरिँदै आएको नगर प्रमुख रोकायले बताउनुभयो।

‘नगरक्षेत्रलाई समृद्ध बनाउन कृषिको व्यवसायीकरण जरुरी छ भन्ने बुझेका छौं,’ रोकायले भन्नुभयो– ‘अब कृषकलाई बजारीकरणमा समस्या पर्दैन। नगरपालिका छ, सहयोग गर्छ।’ माडी नदीबाट लिफ्टिङ गरी किसानको खेतबारीमा सिँचाइको सहज सुविधा पुर्याउने काम नगरपालिकाले थालिसकेको उहाँले जानकारी दिनुभयो।

प्रदर्शनीले किसानहरू उत्साहित भएका छन्। लामो समयदेखि कृषिमा लागेका पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक वासुदेव थापाले स्थानीय सरकारले कृषकलाई प्राथमिता दिएर मेला आयोजना गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। जिल्लाका अन्य स्थानीय तहले पनि यसको सिको गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘बजारीकरण भए उत्पादित वस्तुहरु खेर जाने थिएन कि।’

स्वर्गद्वारी–७ सोत्रेका भुवन कार्कीले प्रदर्शनका लागि राखेको १ सय ३० किलोको बोका मेलाको खास आकर्षण बन्यो। करिब ३ वर्षदेखि बाख्रा पालिरहेका कार्कीको खोरमा २८ वटा बाख्रा छन्। उहाँले मेलामा बोका प्रदर्शन गर्न पाएकोमा खुसी लागेको बताउनुभयो।

यसले आफ्नो व्यवसायको प्रचारप्रसार हुनेमा आशावादी रहेको कार्कीले सुनाउनुभयो। दुई दिन सञ्चालन गरिएको मेलाको ५ सय बढीले अवलोकन गरेको नगरपालिकाले बताएको छ।

किसानको बजारीकरणमा नगरपालिकासँग फूलबारी एकिकृत ग्रामीण विकास संस्था, कृषि तथा जिविकोपार्जन (गोल–२) प्रवद्र्धन परियोजनाले सहकार्य गर्दै आइरहेको जिल्ला कार्यक्रम संयोजक मोहन सुवेदीले बताउनुभयो। मेलाको सहआयोजकको रूपमा परियोजना र प्युठान उद्योग वाणिज्य संघ स्वगद्वारी बजार क्षेत्र भिंग्रीले सहकार्य गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्