आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने अवस्थामा पुगिने



नेपाल समाचारपत्र, खोटाङ ।

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएकाले छिमेकी देशबाट बिजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ।

६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा मंगलबार खोटाङको रावाबेंसी गाउँपालिका–३ मा आयोजित कार्यक्रममा ऊर्जामन्त्री पुनले यस्तो बताउनुभएको हो।

देशका विभिन्न स्थानमा साना तथा ठूला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेकाले नेपाल यस आर्थिक वर्षको अन्त्यबाटै विद्युत् निर्यात गर्ने अवस्थामा पुग्ने मन्त्री पुनले दाबी गर्नुभयो।

यो सरकार आउनुअघि ९ सय मेगावाट विद्युत् भएकोमा दुई वर्षमा चार सय मेगावाट थप गरेर १३ सय मेगावाट पुगेको उहाँले जानकारी दिनुभयो।

‘चालू आर्थिक वर्षभित्र १ हजार मेगावाट विद्युत् उत्पादन हुने छ, मन्त्री पुनले भन्नुभयो– ‘वर्षको अन्तिमदेखि नेपालको आफ्नै बिजुली खपत गरेर बचत भएको बिजुली भारत, बंगलादेशलगायतका बजारमा पुर्याउने गरी काम गरिरहेको छ।’

मन्त्री पुनले आगामी पाँच वर्षमा ५ हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको संकल्प पूरा गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो।

उहाँले यस वर्ष तराई, मधेस र शहरी क्षेत्रका ४० जिल्लालाई पूर्णविद्युतीकरण घोषणाको तयारी गरिएको बताउनुभयो। आगामी दुई वर्षभित्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायतका पहाडी जिल्लाका घर–घरमा उज्यालो पुर्याउने उहाँको भनाइ छ।

प्रभावित क्षेत्रका सांसद, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाली सेनाको हेलिकोप्टरबाट आयोजनास्थल निरीक्षण गरेका मन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट करिब ६० अर्ब ऋण सहयोग प्राप्त हुने र बाँकी १ खर्ब रकम नेपाल सरकार, विद्युत् प्राधिकरण, सञ्चयकोष तथा बैंकबाट जुटाएर आयोजना सफल पार्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्