विद्यालय जाने बनाइदिन बालबालिकाको आग्रह



रोल्पा, (नेस)।

बालकल्याण नमुना माध्यमिक विद्यालयमा गठित बाल क्लबका पदाधिकारीले रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीसमक्ष मागपत्र पेश गरेका छन्। विद्यालय आवतजावत गर्ने बाटो जोखिमयुक्त भएकाले बाटो मर्मतसम्भार गरिदिनुपर्नेलगायतका मागपत्र पेस गरेका हुन्।

क्लबका पदाधिकारीले विद्यालयनजिक पालिएका बंगुरले प्रदूषण फैलाउँदा विद्यार्थीको स्वास्थ्यमा नकरात्मक असर गरिरहेको, सडक बत्ती नहुँदा बिहान पठनपाठन गर्नुपर्ने विद्यार्थी र शिक्षकलाई समस्या भएको जस्ता समस्या मागपत्रमा समावेश गरिएको नमुना बाल क्लबका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो।

विद्यार्थीको मागपत्र बुझ्दै नगरप्रमुख केसीले मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो। विद्यालयले वडा कार्यालयसँग समन्वय गरी विद्यार्थीको माग यसै आर्थिक वर्षमा पूरा गर्ने नगरप्रमुखले प्रतिबद्धता जनाउनुभएको छ।

‘आफ्नो समस्या आफैं लिएर आएकोमा यहाँहरूलाई धन्यवाद, उहाँले भन्नुभयो– ‘आफ्नो मुद्दा आफैं पहिचान गरी सम्बन्धित निकायमा घच्घच्याउन आउनु क्लबको प्रशंसनीय कार्य हो।’ विद्यार्थीको पठनपाठनलाई असहज बनाइरहेका यी समस्यालाई अविलम्ब हल गर्नेतर्फ लाग्ने नगरप्रमुखको भनाइ छ।

‘बाल क्लबले पहिचान गरेका यी समस्या हल गर्ने विद्यालयमा आवश्यक श्रोतको अभाव रहेकाले स्थानीय सरकारसमक्ष मागपत्र लिएर गएका हौं, बालक्लबका सचीव संगीत वीसीले भन्नुभयो– ‘बाल क्लब गठन गरेसँगै आफूहरूकै अगुवाइमा विद्यालयलाई जंक फुड निषेधित क्षेत्र घोषणा गरेका छांै।’

विद्यालय क्षेत्रमा चुरोट, खैनी, मादक पदार्थ र जंक फुडको बिक्री वितरण भइरहेकाले त्यसको निषेधका लागि उनीहरूलाई ध्यानाकर्षण गराइरहेको सचिव वीसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्