कालीदेवीमा पूर्वशिक्षकको अक्षयकोष



नेपाल समाचारपत्र, काभ्रेपलाञ्चोक।

धुलिखेल नगरपालिका–११ स्थित पातलेखेतमा रहेकोकालीदेवी माध्यमिक विद्यालयमा कार्यरत पूर्वशिक्षकले विद्यालयमा अध्ययन गर्ने छात्रछात्राको शैक्षिक स्तर वृद्धीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ।

२०७६ भाद्र २ गते अनिवार्य अवकाश प्राप्त पूर्वप्रधानाध्यापक गंगाप्रसाद सत्यालले १ लाख रुपियाँ अक्षय कोषका लागि हस्तान्तरण गर्नुभयो भने पूवशिक्षक भवानी शंकर तिमल्सिनाले कोषका लागि ५० हजार प्रदान गर्नुभएको थियो।

पूर्वशिक्षकले अक्षय कोषमा रकम प्रदान गरेसँगै स्थानीय समाजसेवी पात्लेगाउँ अर्गानिक फर्मका गोविन्द घिमिरेले पनि ५० हजार उपलब्ध गराउनुभयो।

‘कोषमा २ लाख रुपियाँ जम्मा भएको छ। उक्त रकमबाट विद्यालयमा अध्ययन गर्ने जेहेनदार छात्रछात्राका लागि छात्रवृत्ति उपलब्ध गराइनेछ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र न्यौपानेले बताउनुभयो– ‘विद्यालयलाई नगरकै नमुना बनाउने अभियानस्वरुप पूर्वशिक्षक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहभागिता छ।’

विद्यालयको ४३आंै वार्षिकोत्सव समारोह नव निर्मित भवनको हस्तान्तरण, पूर्वप्रधानाध्यापकको बिदाई तथा सम्मान, २०७१ देखि २०७५ सम्म एसइई परीक्षामा उत्तिण विद्यार्थीहरूको सम्मान र बिदाई कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले नगरलाई बालमैत्री, शैक्षिक, स्वस्थ र पर्यटकीय नगरी बनाउने उद्देश्यले कार्य भइरहेको बताउनुभयो।

‘विद्यालय प्रवेश गर्न नसकेका बालबालिकालाई विद्यालय हाताभित्र ल्याउन जरुरी छ, नगर प्रमुख ब्याञ्जूले भन्नुभयो– ‘शिक्षक बीचको एकता, अभिभावकको दायित्व र परिणामुखी विद्यार्थीहरूको जीवनका लागि विद्यालयको वातावरण निर्माण गरिनु पर्छ।’

शिक्षकहरूको मूल्यांकन गर्ने विधि बनेको बताउँदै नगर प्रमुख ब्याञ्जूले नगरपालिकाले पहिलो चरणमा वडाका १२ वटा विद्यालयलाई नमुना बनाइने बताउनुभयो।

शिक्षक दरबन्दी मिलान सम्पन्न गरी शैक्षिक क्षेत्रका तमाम समस्या समाधानका लागि नगरपालिकाले कार्य गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जूले सीपसहितको आत्मनिर्भर हुने प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रममा विद्यालयले पूर्वप्रधानाध्यापक गंगाप्रसाद सत्याललाई सम्मान गरेको थियो भने सत्यालले शिक्षकद्वय दामोदर न्यौपाने र सुरेशराज पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र न्यौपाने र पूर्व गाविस अध्यक्ष केशव वडाललाई सम्मान गर्नुभएको थियो। शिक्षक, विद्यार्थीले संयुक्तरूपमा नेपालको सीमा नमिच्न खबरदारी गर्दै सरोकारवालालाई चेतावनी दिएका थिए।

६८ लाखमा निर्माण सम्पन्न भएको ४ कोठे पक्की भवनको नगर प्रमुख अशोक ब्याञ्जूले उद्घाटन गर्नुभएको थियो। ४ महिनामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको उक्त भवन जिल्लामै छोटो समयमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख द्वारिका पोखरेलले बताउनुभयो।

भवन निर्माणसँगै शिक्षालाई सीप र गुणस्तरमा जोड्न पोखरेलले अनुरोध गर्नुभयो। विद्यालयमा २ सय १० जना विद्यार्थी भर्ना भएकोमा १ सय ७१ नियमित छन्। १२ जना शिक्षक निजी, राहतबाट कार्यरत रहेको प्रधानाध्यापक उद्धवप्रसाद तिमल्सिनाले बताउनुभयो।

‘शिक्षक अभावका कारण शैक्षिक गुणस्तर कायम गर्न चुनौती थपिएको छ, उहाँले भन्नुभयो– ‘अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्ययनका लागि कालीदेवी जाउँ भन्ने अभियानले वडा भित्रकै नमुना माविलाई नगर र जिल्लाकै नमुना बनाउने अभियानमा छौं।’

वडा अध्यक्ष विष्णु धितालले नगरले समग्र विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने गरी कार्ययोजनाअनुसार कार्य गरिरहेको बताउनुभयो। नमोबुद्ध नगरपालिका वडा नम्बर २ का अध्यक्ष सञ्जीव ढकाल, पूर्वप्रधानाध्यापक गंगाप्रसाद सत्याल, पूर्वविद्यार्थी श्रीदास तामाङलगायतले सामुदायिक विद्यालयहरूले गुणस्तर सुधार गर्न चाहे सम्भव भएको बताउनुभएको थियो।

विद्यालयमा भर्ना भएका बालबालिका नियमित आउन नसक्नुको कारण अभिभावक र विद्यालयले खोजी गरी नियमित गराउन पहल गर्नुपर्ने सहभागीहरूले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्