भवन निर्माण गर्दै दुई गाउँपालिका



नेपाल समाचारपत्र, डोटी।

स्थानीय तह गठन भएदेखि भाँडाको घरमा बसेरका दुईवटा गाउँपालिकाले आफ्नै भवन निर्माण गर्ने भएका छन्। गाउँपालिका जोरायल र बडीकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरि सेवा प्रदान गर्ने भएका हुन।

नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि यी दुई गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिब्रता दिनथालेका छन्। जोरायल गाउँपालिकाको भवन निर्माणको कार्य करिब अन्तिम चरणमा पुगेको छ भने बडीकेदार गाउँपालिकाको भवनको सिलान्यास गरिएको छ।

बडीकेदार गाउँपालिकाको कुल रु ७० लाखको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकराज पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ बन्ने भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष/उपाध्यक्ष कार्यकक्ष सहित २२ कोठाको भवन निर्माण हुन लागेको हो।

भवनको निर्माणको जिम्मा एस.एस. कन्सट्रक्सन दिपायलले पाएको छ। १ वर्षभित्रै भवन निर्माण गर्ने सहमती अनुसार गाउँपालिका भवन सिलान्यस गरिएको केदारगाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो। ‘एक वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सम्झौता गरेकाछौँ, उहाँले भन्नभयो–‘एक वर्षपछि आफ्नै भवनबाट नागरिकलाइ सेवा दिने छौँ।’

त्यसैगरी जिल्लाकै जोरायल गाउँपालिकाले कुल रु २ करोड ३ लाखमा कुल १४ कोठ भवन निर्मण गर्न लागेको छ। नयाँ बन्ने भवनमा सभा हल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष/उपाध्यक्ष कार्यकक्षहरू सहित थानी कन्सट्रक्सन काठमाडांैलाई भवन निर्माणको जिम्मा दिएको उक्त गाउँपालिकाको भवन करिब अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।

‘हामीले सुबिधा सम्पन्न गाउँपालिका भवन निर्माण गर्दैछौँ, उहाँले भन्नुभयो–‘केही महिना भित्रमै हामी हाम्रो आफ्नै भवनमा सर्ने छौँ।’
आफ्नो भवन नहुँदा उक्त गाउँपालिकाको काम काज मासिक रु १२ हजार भाडाको घरबाट हुदै आएको थियो।

बडीकेदार गाउँपालिकाको केन्द्र बडीकेदार गाउँपालिका–२ खड्यौलीमा भवन निर्माण हुन लागेको भने जोरायल गाउँपालिका–३ रावतकट्टेमा निर्माण हुन लागेको हो। बडीकेदार गाउँपालिकामा पाँच वटा वडा रहेका छन्।

वडा नं–२ सँग मात्रै आफ्नै भवन रहेको छ भने बाँकी १, ४ र ५ वडाको भवन निर्माण कार्यपनि चलिरहेको छ। उता ६ वटा वडा कार्यालय रहेको जोरायल गाउँपालिकामा भने सबै वडासँग आफ्नै वडा कार्यालय भवन रहेको छन् भने गाउँपालिकासँग मात्रै आफ्नो भवन थिएन। गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न थालेपछि त्यहाँका स्थानीयहरू खुसी भएका छन्।

जिल्लामा हरेका अन्य पाँच वटा गाउँपालिकासँग पनि आफ्नो भवन नभएका कारण सेवा दिनमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिका वडा नं २ का वडाअध्यक्ष वीरेन्द्र कोड्केनीले बताउनुभयो। ‘अधिकाँस गाउँपालिकासँग आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या परेको छ, उहाँले भन्नुभयो–‘अन्य कुरा भन्दा पहिले आफ्नो भवन निर्माण गर्न जरुरी छ।’

गाउँपालिका निर्माणका लागि रकम भए पनि सबै नागरिकलाई पायक पर्ने ठाउँमा जग्गा नपाउने गरेका कारण गाउँपालिका भवन निर्माण गर्नमा निकै समस्या हुँदै आएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो।

‘हामीसँग भवन बनाउने बजेट त छ तर सबैलाई पायक पर्ने ठाउँमा जग्गा नपाउदा भवन निर्माण गर्न सकेका छैनौँ, उहाँले भन्नुभयो–‘पाएक पर्ने ठाउँमा जग्गा मिले भवन चाँडै निर्माण गर्ने छौँ।’ गाउँपालिका मात्रै नभएर जिल्लाका अधिकाँस वडा कार्यालयका पनि आफ्ना भवन छैनन्। यहाँका वडा कार्यालय पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्