चिसोले अस्पतालमा बिरामीको चाप बढ्यो



नेपाल समाचारपत्र, डोटी।

केही दिन पहिले भएको हिमपातसँगै एका एक बढेको चिसोले बिरामीको सङ्ख्या बढेको छ। सरकारी तथा निजी अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको हो। जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघा खोकी, निमोनिया लगायतका ज्वरोका कम्तिमा पनि ४० जना बिरामी भर्ना भएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ड डा. ज्योती पाण्डेले बताउनुभयो।

‘चिसोले बालबालिका र जेष्ठ नगरिकहरूमा बढी समस्या देखिएको छ, उहाँले भन्नुभयो–‘अस्पतालमा बिरामीको चाप बढेको छ।’ त्यस्तै जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा पनि बिरामीको चाप बढेको छ। उक्त अस्पतालमा दैनिक ३० देखि ४० जनाको हराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भैरहेको सो अस्पतालका निर्देशक तथा चिकित्सक आइजंङ कुँवरले बताउनुभयो। ‘अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उहाँले भन्नुभयो–‘उपचारमा समस्या भैरहेको छ।’

त्यस्तै यहाँका ग्रामिण क्षेत्रमा भएका स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य इकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यहाँका स्वास्थ्य चौकीमा दिनमा कम्तिमा पनि १० देखि २० जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन्।

यहाँका गाउँका स्वास्थ्य चौकीमा यतिबेला निमोनिया, रुघाखोकीका बिरामीको चापलले भरीएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्य चौकीका अहेव रमेश जोशीले बताउनुभयो। उहाँले भन्नुभयो–‘चिसोले बिरामीको सङ्ख्या निकै बढेको छ, बिरामी थपिने क्रम बढेको छ।’

स्वास्थ्य चौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोग देखिएकोे उहाँले जानकारी दिनुभयो। अहिले स्वास्थ्य चौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल डोटीबाट ल्याइएको औषधि विरतण गरिएको अहेव जोशीले बताउनुभयो।

यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि १५ जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। त्यस्तै जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरागका बिरामीहरूको सङ्ख्या बढ्न थालेको छ।

अहिले दैनिक ४० देखि ५० जनाको सङ्ख्यामा बाथरागेको उपचारका लागि बिरामी आउने गरेकोे अस्पतालका बैद्य खडक बमले जानकारी दिनुभयो। चिसो मौसम भएकाले तातो झेलिलो खानेकुरा खान चिकित्सकहरूले सबैलाइ सल्लाह दिएका छन्।

प्रतिक्रिया दिनुहोस्