सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी



यमलाल भुसाल, बुटवल ।

बुटवलको सुन्दरता जोगाई राख्नका लागि यहाँको ट्राफिक व्यबस्थापन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। दिगो विकासका लागि बजारलाई व्यबस्थित गर्न र ट्राफिक व्यबस्थापनलाई प्राथमिकता दिन सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले औल्याएका हुन्।

उनीहरूले बुटवललाई व्यबस्थित रुपमा अंगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनका लागि बजारलाई स्पेशलाईज गर्न र ट्राफिक व्यबस्थापन गर्नुपर्ने धारणा राखेका छन्।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा जारी २०औं औद्योगिक व्यापार मेलाको सन्दर्भ पारेर आयोजना गरिएको ‘नयाँ बुटवलको आधारः सुन्दर र व्यबस्थित बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले बुटवललाई व्यबस्थित रुपमा अंगाडी नबढाउने र ट्राफिक व्यबस्थापन पनि नगर्ने हो भने बुटवलको बजार बिस्थापित हुने चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोध कर्ता सुत्र शोलुसन्सका प्रवन्ध निर्देशक राजु शर्माले बुटवलको बजार जोगाई राख्नका लागि अरू नगरपालिका भन्दा प्रतिस्पर्धी क्षमता बढी हुनु पर्ने बताउनुभयो। बुटवल पुरानो शहर, ऐतिहासिक महत्व, व्यबसायिक तथा प्रशासनिक केन्द्र, आम्दानी योगदान, जीवनयापनको गुणस्तर लगायतका कारण आफैमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।

त्यसैगरि बुटवलको ट्रेडलाई बचाई राख्न नसक्ने हो भने शहरीकरण हुँदै गरेका छिमेकका नगरपालिकामा यहाँको बजार विस्थापित हुने उहाँले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ। त्यसकालागि यहाँको बजार र ट्राफिक व्यबस्थापन अपरिहार्य रहेको उहाँले औंल्याउनुभयो।

सुत्र शोलुसन्सले गरेको सोध अनुसार बुटवलमा सवारीको चाप भन्दा पनि व्यबस्थापनको समस्या हो। ‘बुटवल उपमहानगरपालिका भित्र करिव ३ हजार साना ठूला गाडी छन्, ट्राफिक जाम हुने गाडीको फ्लोले होईन।’ प्रवन्ध निर्देशक शर्माले भन्नुभयो–‘ट्राफिक व्यबस्थापनमा समस्या छ।’

रिक्सा संख्या भने आवश्यकता भन्दा बढी छ। ट्राफिक व्यबस्थापनमा रिक्सा समस्याको रुपमा खडा भएको छ। त्यसको व्यबस्थापनका लागि नगरपालिकाले आवश्यकता पहिचान गरेर नगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यबस्थापनको नाममा सुविधालाई अवरोध हुनेगरी योजना बनाउन सान्दर्भिक नहुने बताउनुभयो। उहाँले नगरपालिकाले पनि व्यबस्थापनलाई प्राथमिकतामा राखेर नीति नियम बनाउनु पर्ने भन्दै सुविधा नै लिन नपाउने गरी बाध्यकारी नियम बनाउन नहुने सुझाव राख्नुभयो।

त्यस अंगाडी कतिपय वक्ताहरूले निश्चित बजार क्षेत्रमा निश्चित समयमा गाडी प्रवेश निषेध गर्नेगरी व्यबस्थापनकालागि सुझाव राखेका थिए। पूर्व अध्यक्ष सैंजुले पार्किङ्को समस्या जती औंल्याएको छ, त्यति नभएको बताउँदै पार्किङ् व्यबस्थापनको जिम्मा बुटवल उद्योग बाणिज्य संघलाई दिए संघले नमुना हुनेगरी पार्किङ् व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

बुटवल उपमहानगरपालिका–६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बुटवल बजार व्यबस्थापन र ट्राफिक समस्या समाधानमा धेरै समस्या नरहेको बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो। बुटवल बजारको सुधार आवश्यक रहेको बताउँदै सुधारकालागि नगरपालिकाले एक दुई स्थानमा निःशुल्क र बाँकी स्थानमा सःशुल्क पार्किङ्का लागि सोँच बनाएकोे उल्लेख गर्नुभयो।

त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले बुटवलको बजार सुधार गर्न नसके वडा नं. ४, ५ र ६ को ट्रेड बचाउन नसकिने बताउनुभयो। ‘जमिन तन्काएर तन्किदैंन, जे छ त्यसैमा व्यबस्थापन गर्ने हो, उहाँले भन्नुभयो–‘निश्चित बजार क्षेत्रमा निश्चित समय सवारी साधन निषेध गरेर हुन्छ कि के गरेर हुन्छ ? सुधार गर्नुपर्छ।’

रिक्साले ट्राफिक व्यबस्थापनमा समस्या भएको कारण आवश्यकता अनुसार रिक्सा सञ्चालनका लागि नगरपालिकाले सूचना सार्वजनिक गरेको समेत त्यस अवसरमा उहाँले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्