समाजवादीको संयुक्त प्यानल विजयी



खोटाङ, (नेस) ।

खार्मीस्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्माणमा राजनीतिक दल निकट व्यक्तिहरूवीच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने माविको व्यवस्थापन समितिका लागि सोमवार सम्पन्न निर्वाचनमा नेकपा र समाजवादी पार्टीका संयुक्त प्यानल विजयी भएको छ।

नेपाली कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार ज्ञानवहादुर श्रेष्ठलाई झण्डै तेब्बर मतान्तरले पछि पार्दै संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार नेकपा निकट सुरेशकुमार तामाङको प्यानलै विजयी भएको छ। विद्यालयमै सम्पन्न निर्वाचनमा तामाङले १ सय ३१ र श्रेष्ठले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा प्रधानाध्यापक देवान राईले जानकारी दिनुभयो।

संयुक्त प्यानलमा तीनै जना सदस्य समाजवादीका तर्फबाट उम्मेदवार बनाईएको थियो। संयुक्त प्यानलका लागि खुल्ला सदस्यका उम्मेदवार यामबहादुर राईले १ सय २७, महिला सदस्यमा बालकुमारी राईले १ सय २१ र दलित सदस्यमा बत्ति दर्नालले १ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत राईले बताउनुभयो।

यसअघि पनि सुरेश तामाङ नै विद्यालय व्यवस्थापनको अध्यक्ष रहनु भएको थियो। यसैवीच, विद्यालय जस्तो पवित्र संस्थामा राजनीति हुनु दुःखद् भएको स्थानीयबासीको गुनासो छ।

 

प्रतिक्रिया दिनुहोस्