गाँजा नियन्त्रणमा लिन हवाइ फायर



हेटौंडा, (नेस)।

रातोमाटेबाट प्रहरीले लागूऔषध गाँजा ५३ केजीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडाबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउन्ड हवाइ फायर गरेको थियो।

भारतीय कार र ट्रकमार्फत् निकासी गर्न लागिएको गाँजासहित चार जना पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो। रातोमाटे र चुरियामाईबीच जंगलबाट चार राउन्ड हवाइ फायर गर्दै डीएल–३ सीएक्यु ४१७२ नम्बर कार नियन्त्रणमा लिइएको हो।

३२ केजी गाँजासहित भारत मोतीहारी चम्पारण कुडुवा चैनपुर बारबा बस्ने ३७ वर्षीय दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जवलकुमार ठाकुर र रौतहट यमुनामाई गाउँपालिका–४ बस्ने २४ वर्षीय विकास सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

रातोमाटेबाट नै २१ केजी गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ७२६८ नम्बर ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्