ट्राफिक प्रहरीले एक महिनामा दश लाख राजस्व संङ्कलन



विमल विष्ट, डोटी।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले एक महिनामा १० लाख भन्दा बढी राजस्व संङ्कलन गरेको छ। ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा कडिकडाउ गरेपछि सो रकम उठेको हो।पछिल्लो समय सवारी दुर्घटना बढेपछि सवारी चेकिङमा कडाइ गरिए सँगै सयौँ सवारी साधनलाई कारवाहि गर्दा ठुलो रकम संङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले बताउनुभयो।

सावरी चेकिङमा कडाई गरिएसँगै यहाँको सवारी दुर्घटनामा न्यूनीकरण आउनुका साथै राजस्व सङ्कलनमा समेत वृद्धि भएको जनाइएको छ। उक्त कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष बिसं २०७४/२०७५ मा ४ हजार २ सय ३६ जना सवारी चालकलाई कारबाही गरी रु २३ लाख २४ हजार ५०० रुपियाँ राजस्व संङ्कलन भएको थियो भने आर्थिक वर्ष बिसं २०७५/२०७६ मा ४ हजार ४ सय ५४ जनालाई कारबाही गरी रु २४ लाख ५९ हजार राजस्व संङ्कलन भएको थियो।

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कुल १ हजार ६ सय २९ जना सवारी चालकलाई कारबाही गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख खड्का अनुसार कारवाहिबाट १० लाख २ हजार रकम राजस्व संङ्कलन भएको छ। सवारी चेकजाँच सहित अन्य नियममा कडाई गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा सडक दुर्घटना न्यूनीकरण हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपाय प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो।

‘हामीले सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला व्यापी अभियान नै चलाएका छौँ, उहाँले भन्नुभयो–‘जस्ले गर्दा यहाँको सवारी दुर्घटनामा कमी आउन थालेको छ।’ जिल्लामा सडक दुर्घटनाको पछिल्लो अवस्था हेर्दा आर्थिक वर्ष बिसं २०७४/२०७४ मा सडक दुर्घटना परि ३० जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष बिसं २०७५/२०७६ मा ११ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष बिसं २०७६/२०७७ को कात्र्तिकसम्म ४ जनाको मात्र मृत्यु भएको तत्थ्यांङ्कमा उल्लेख छ।

त्यस्तै ट्राफिक प्रहरी बस्ने भवन र दरबन्दी अनुसारका ट्राफिक प्रहरी नहुँदा पनि ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख खड्काले गुनासो गर्नुभयो। जनशक्ति अभाव डोटीमा मात्र नभई सुदूरपश्चिमका सबै जिल्लाहरूमा रहेको र क्रमिक रुपमा ट्राफिक प्रहरी संंङ्ख्या थपिदै जाने सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो।

‘जनशक्ति अभाव छ। सबै जिल्लाका आफ्नो भवन छैनन् तर पनि आफूसँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरेका छौ, उहाँले भन्नुभयो–‘सेवा प्रवाहमा बाधा हुन दिन्नौ।’ ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन गरेको ट्राफिक सचेतना अभियान अनुसार सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा तिन जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने, लापरबाही गर्ने, नम्बर प्लेट नभएका तथा बिदाको दिन सरकारी सवारी साधन चलाउनेलाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायल डोटीले जनाएको छ।

जिल्लाको आवश्यकता अनुसार ट्राफिक प्रहरीको संख्या कमी भएपनि जिल्लाका मुख्य बजारहरू बुडर, बिपीनगर, सानागाँउ, तिलतालि, सिलगढी र दिपायलमा बजारमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो। उहाँले भन्नुभयो, “जनशक्ति भवाभ हुँदापनि जिल्लाका प्रमुख बजारमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, सडक पुगेका जिल्लाका अन्य ग्रामिण क्षेत्रमा पनि बिस्तारै परिचालन गर्ने योजनामा छौँ।”

प्रतिक्रिया दिनुहोस्