१६ हजार ५ सय बढीलाई अस्थायी साधन वितरण



नेपाल समाचारपत्र, ।

नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले एक वर्षमा जिल्ला शाखा तथा पाँचखाल उपशाखाबाट १६ हजार ५ सय ९२ जनालाई अस्थायी साधन वितरण गरेको छ। परिवार नियोजन शाखा बनेपाले गर्भपतन सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

एक वर्षमा सुरक्षित गर्भपतन सम्वन्धी सेवा ३ सय ४४ जनाले लिएको अध्यक्ष शु्भराज जोशीले बताउनुभयो। शाखाबाट १६ हजार २ सय ४८ जना महिलाहरूको जाँच गरेको छ भने एचआईभी/एडस सम्वन्धी परिक्षण ५ हजार ५ सय जनाको गरेको छ। महिलाहरूको सामान्य जाँच ७ हजार ३ सय ३४ जनाको गरेको छ।

अध्यक्ष शुभराज जोशीले संस्था मार्फत प्रसुती सम्वन्धीको सेवा २ हजार ३ सय ७७ जना र सुत्केरी सम्वन्धी सेवा ६४ जनाले लिएको बताउनुभयो। नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ३७औ शाखा अधिवेशन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिहं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

अधिवेशनको बन्द सत्रले पुनः दोश्रो कार्यकालका लागि शुभराज जोशीको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको छ। समितिमा प्रकाश कायश्थ, लम्बोदर कायश्थ, बद्रिबहादुर कार्की, महिला सदस्यहरूमा जमुना मोक्तान, इन्द्रलक्ष्मी श्रेष्ठ, शान्ति कायश्थ, सलिश्मा कायश्थ, युवा सदस्य रेश्मा शिल्पकार र कृषा श्रेष्ठ निर्वाचित हुनु भएको छ।

सहायक निर्वाचन अधिकृत सुर्दशन कर्णजितका अनुसार सबै पदहरूमा निर्विरोध भएको थियो। कार्यक्रममा पुर्व अध्यक्षहरू योगेन्द्रनाथ कर्माचार्य, सुरकृष्ण वैद्य लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।अध्यक्ष शुभराज जोशीको अध्यक्षतामा आयोजित सभामा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नागरिकहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो।

संघ संस्थाहरूसँगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अप्रेसन, महिलाहरूको विभिन्न खाले रोगको निःशुल्क परिक्षण र उपचार, युवाहरू तथा अन्य रोगहरूको सेवाका लागि सहकार्यमा कार्यक्रम संचालन गरिहेको बताउनुभयो। परिवार नियोजनसँग सम्वन्धित कार्यक्रमका लागि पनि संस्थासँगको सहकार्यमा कार्यक्रम गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समिति प्रदेश नम्वर ३ का अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ, हेलम्बुु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे, बनेपा नगरपालिकाका योजना अधिकृत यज्ञ वैद्य लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अध्यक्ष शुभराज जोशीको स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव प्रकाश कायश्थले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्