बैतडीमा हिमपात, विद्युत सेवा अवरुद्ध



नेपाल समाचारपत्र, बैतडी।

मौसममा बदली भएसँगै बैतडीका उच्च लेकाली क्षेत्रहरूमा हिमपात शुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो। मंसिर अन्तिम साता यो वर्ष पहिलो पटक हिमपात भएको थियो।

गए रातीदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रहरूमा हिमपात भएको स्थानीयबासीले बताएका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुभयो। हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ।

हिमपातले बाहिर निस्कनसमेत मुस्किल भएको सुर्नया ८ का बीरबहादुर बोहराले बताउनुभयो। हिमपातले चिसो बढेसँगै वस्तुभाउ स्याहारमा समेत समस्या भएको उहाँले बताउनुभयो।

वर्षासँगै हिमपात भएपछि किसानहरू भने खुसी भएका छन्। सिंचाई नभएका क्षेत्रमा वर्षा र हिमपातले सिंचाईको काम गर्ने भएकाले किसानहरू खुसी भएका हुन्। हिमपातले खेतीबालीका रोग कीराहरू समेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो।

लेकाली भेगमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधी आपूर्तीका लागि स्थानीय तहलाई निर्देशन दिई सकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

यसैबीच हिजोरातीदेखि बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ। राती चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्