प्याराग्लाइडिङ गरेर पर्यटन वर्षको स्वागत



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरको पर्यटकीय गन्तव्य इन्द्रसरोवरमा प्याराग्लाइडिङको परीक्षण गरी पर्यटन वर्ष २०२०को स्वागत गरिएको छ। इन्द्रसरोवर, प्रदेश–३ सरकारले घोषणा गरेको भ्रमण वर्षको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। इन्द्रसरोवरको गुम्बाडाँडाबाट ४ प्याराग्लाइडरले उडान भरेका थिए।

कुलेखानी हाइड्रोका लागि मानवनिर्मित इन्द्रसरोवर जलाशय किनारमा पर्यटन वर्षमा व्यावसायिक उडान गर्ने गरी प्याराग्लाइडिङको परीक्षण गरिएको हो। पर्यटन वर्षलाई लक्षित गरी आवश्यक प्रक्रिया पूरा गरी प्याराग्लाइडिङको व्यावसायिक उडान भरिएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो।

‘पर्यटन पर्वको मुख्य आकर्षणका रूपमा इन्द्रसरोवर जलाशयमा प्याराग्लाइडिङ थप गर्छौंं,’ उहाँले भन्नुभयो– ‘कम्तिमा २ दिन घुम्न र रमाइलो गर्न सकिने पूर्वाधार विकास गरिने छ।’

प्याराग्लाइडिङ उडाउने विशाल लामा, पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले माला लगाएर स्वागत गर्नुभएको थियो। मन्त्री नेपालले मकवानपुरको इन्द्रसरोवर प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउनुभयो।

इन्द्रसरोवर किनारबाट करिब पाँच सय मिटर उचाईंमा रहेको गुम्बाडाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर लामाले बताउनुभयो। ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ’ –उहाँले भन्नुभयो।

इन्द्रसरोवरबीच तालमा रहेको टापुमा हिन्दु र बौद्ध धर्मावलम्बिको धार्मिक गन्तव्य निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नेपालले बताउनुभयो। उहाँले पोखरापछिको उत्कृष्ट गन्तव्य इन्द्रसरोवर बन्नसक्ने भएकोले त्यसका लागि वृहत् योजनासहित पूर्वाधार विकासमा प्रदेश सरकारले काम गरिरहेको छ।

एक सातामा आन्तरिक र वाह्य पर्यटक गरी करिब २ हजार जना इन्द्रसरोवर तालमा डुंगा सयर गर्ने गरेका छन्। पर्यटन वर्षलाई लक्षित गरी उक्त क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको र केही बन्ने क्रममा छन्।

प्रतिक्रिया दिनुहोस्