जुनार चीन निर्यात गर्ने बाटो खुलेको छ : प्रचण्ड



नेपाल समाचारपत्र, सिन्धुली।

गोलन्जोर गाउँपालिकाको जुनार सुपरजोन क्षेत्रका जुनार किसानले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ७ बँुदे ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुुपरजोन सञ्चालक समितिले भ्रमण वर्ष २०२० को अवसरमा बुधबार अध्यक्ष प्रचण्डसँग सामूहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै ज्ञापन पत्र बुझाएको हो।

जिल्लाकै पहिचानको रूपमा स्थापित जुनारको व्यवस्थित बजारीकरण, सडक निर्माण तथा मर्मत, खानेपानी तथा सिँचाइ, चिस्यान केन्द्र, गोलन्जोर भ्यूटार व्यवस्थापन लगायतको व्यवस्था गर्न माग गर्दै किसानले ज्ञापनपत्र बुझाएका हुन्।

किसानले राखेका मागहरू पुरा गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष प्रचण्डले जुनारलाई अझै व्यवसायिक रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जुनार उत्पादनमा अहिलेसम्म राज्यले गरेको लगानी पर्याप्त नभएको भन्दै जुनारको संरक्षण सम्बद्र्धनमा राज्यले वैज्ञानिक तरिकाले लगानी गर्नुपर्ने र जुनार किसान र व्यवसायीले पनि लगानी बढाउनुपर्ने बताउनुभयो।

‘अहिले मैले बुझेसम्म व्यक्तिगत उत्पादनको रूपमा जुनार उत्पादन हुँदै आएको छ। अबको आवश्यकता भनेको व्यवसायिक रूपमा उत्पादन गर्नुपर्छ, उहाँले भन्नुभयो–‘ठूलो मात्रामा उत्पादन गर्नुपर्छ। यसको संरक्षण सम्बद्र्धनमा वैज्ञानिक तरिकाले राज्य र त्यस खालका व्यवसायीहरूले पनि लगनी गर्नुपर्ने आवश्यकता छ।’

तत्कालिन समयमा आफू प्रधानमन्त्री हँुदा देशका विभिन्न ठाउँमा पुगेर प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना लागू गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जुनारलाई देशभित्र मात्रै नभई अरु देशमा पनि निर्यात गर्न सक्ने गरी उत्पादन गर्नुपर्ने बताउनुभयो।

जुनारलाई अरु देशमा पनि निर्यात गर्ने वातावरण सिर्जना गर्ने विषयमा केन्द्रमा पटकपटक छलफल भएको बताउँदै अध्यक्ष प्रचण्डले जुनार, सुन्तला र कागतीलगाएतका फलफूल चीन निर्यात गर्ने बाटो खुलेको बताउनुभयो।

‘जुनार सुपरजोन बनाउन मेरो पनि हात छ, उहाँले भन्नुभयो–‘देश भित्र मात्रै होईन, व्यवसायिक रूपले अरु देशमा पनि निर्यात गर्ने वातावरण बनाउने कुरामा केन्द्रमा पनि पटकपटक छलफल हुने गरेको छ।’

पछिल्लो चरण चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा चीनियाँ बजारमा नेपाली जुनार निर्यात गर्ने गाँठो फुकेकाले जुनारलाई व्यवसायिक रूपमा निर्यात गर्ने वातावरण बनेको अध्यक्ष प्रचण्डको दाबी छ। ‘जुनार, सुन्ताला र कागतीलगाएतका फलफूल चीन निर्यात गर्न पहिला केही समस्याहरू थिए।

रुखविरुवा नै स्वस्थ्य हुनपर्ने भन्ने जटिल्ता हटेको छ। अब ‘फल निरोगी’ भएमात्र हुने भएपछि जुनार चीन निर्यात हुन्छ। यो किसानको लागी खुसीको कुरा हो’ –उहाँले थप्नुभयो।

जुनार उत्पादनमा राज्यले गरेको प्रयास पर्याप्त नभएको उहाँको भनाई छ। ‘लगानी गर्ने, व्यवसायिक रूपमा उत्पादन गर्ने, बजारको व्यवस्थापन गर्ने, रोगको अनुसन्धान, व्यवस्थापन गर्ने कुरामा अझंै अपर्याप्तता छ।

किसानले उठाएका मागहरूलाई गम्भिरता पूर्वक लिएर पार्टीमा र सरकारमा एजेण्डा बनाउने र अगाडी बढाउन सहयोग गर्नेछु विश्वस्त हुनुहोस्’ –अध्यक्ष प्रचण्डले भन्नुभयो।

सिन्धुलीको गोलन्जोर, सुनकोशी, तिनपाटन, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिमा जुनार उत्पादन हुँदै आएको छ। जिल्लाका झन्डै ५ हजार किसानले जुनारबाट वार्षिक लाखौं आम्दानी लिँदै जीविका चलाउँदै आएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय खनियाँखर्कका प्रमुख देवराज अधिकारीका अनुसार सिन्धुलीको ‘जुनारसुपरजोन’ क्षेत्रमा वार्षिक ९ हजार मेट्रिकटन उत्पादन भई ३२ करोड मूल्य बराबरको करोवार हुँदै आएको छ।

केही वर्षदेखि जुनारमा किरा लाग्दा यहाँका जुनार किसान निरास थिए। तर अहिले किरा नियन्त्रण हँुदै गएको परियोजना इकाई कार्यालय खनियाँखर्कका प्रमुख अधिकारीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्