पर्यटकीय क्षेत्र विकासका लागि १६ करोड ५० लाख



नेपाल समाचारपत्र, भद्रपुर।

झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा १६ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सङ्घीय सरकारमार्फत खर्च हुने गरी जिल्लाका ४१ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको हो।

प्रदेश सरकारबाट १५ करोड ७५ लाख र बाँकी बजेट सङ्घीय सरकारले विनियोजन गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ ले जनाएको छ।

१५ स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकामा ३ करोड २५ लाख बजेट विनियोजन भएको छ भने सबैभन्दा कम २० लाख रुपियाँ कमल गाउँपालिकामा विनियोजन गरिएको छ। जिल्लाका १३ पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी रहेको सो कार्यलयले जनाएको छ।

सरकारले झापा र बाह्रदर्शी दुइओटा गाउँपालिकामा बजेट विनियोजन गरेको छैन। कार्यालयले दिएको जानकारी अनुसार गौरादहको गौरादह पोखरी पर्यटकीयस्थलमा १ करोड ५० लाख, भद्रपुर–२ कमलधाप सिमसार पर्यटन पूर्वाधारमा १ करोड, कन्काइ–८ मा वनभोजस्थलमा ८० लाख, अर्जुनधाराको सुखानी शहीदस्मृति पार्क निर्माणमा ५० लाख, शिवसताक्षी दोमुखाको बहुसांस्कृतिक उद्यान निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ।

यसैगरी भद्रपुर–१ को दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्रमा ४० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासमा ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वालउद्यान पार्कमा ५० लाख, अर्जुनधारा–१ मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासमा ५० लाख, दमकको आलेख पार्क निर्माणमा ५० लाख रकम विनियोजन गरिएको छ।

कमल गाउँपालिका–५ स्थित आदिवासी जनजातिस्मृति उद्यानमा २० लाख, गौरादह–५ मा रहेको मदन भण्डारी उद्यानमा ५० लाख, दमक नगरपालिका–२ मा रहेको शहीद उद्यानमा १० लाख, हल्दीबारी–५ मा रहेको सोडागन्धी सिमसार पर्यटन प्रवद्र्धनमा १५ लाख, बिर्तामोड १० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासमा २० लाख विनियोजन गरिएको प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना शाखा प्रमुख घनश्याम यादवले जानकारी दिनुभयो।

सिमसार संरक्षण तथा पर्यापर्यटन, धार्मिक तथा पर्यटकीयस्थल पूर्वाधार निर्माण, कछुवा संरक्षण तथा दृश्यअवलोकन केन्द्र निर्माणसहित विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको उहाँले बताउँनुभयो।

त्यसैगरी सङ्घीय सरकारले भद्रपुर २ र ३ मा रहेको किचकबध पुरातात्विक स्थल संरक्षण तथा उत्खननका लागि १० लाख ,दमक ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दीरमा १० लाख, सुखानी पार्क निर्माण शनिश्चरेमा २० लाख र पाँच पोखरी पर्यटकीय विकास तथा पूर्वाधारका लागि बुद्धशान्ति गाउँपालिकामा ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्