खाना महोत्सवमा साढे दुई लाख दर्शक ६ करोड बढी कारोबार



नेपाल समाचारपत्र, बुटवल ।

दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन्। तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोबार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले बताउनुभयो।

खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र ८० लाखको कारोबार भएको थियो। त्यसैगरी दोस्रो दिन १ लाख दर्शकले अवलोकन गरी साढे दुई करोडको कारोबार भएको संघका महासचिव माधवकुमार खनालले बताउनुभयो।

महोत्सवको अन्तिम दिन बुधबार १ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको काराबार हुने अपेक्षा गरिएको प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बताउनुभयो।होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको थियो।

अत्यन्तै सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक समुद्र जिसीले बताउनुभयो।सडक खाना महोत्सवमा जातिगतरूपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरू सडकमै पकाएर खुवाइएकोले यस क्षेत्रको रौनक नै पृथक बनेको थियो।

सडक खाना महोत्सवमा नेपाली जातिगत खानाबाहेक इन्डियन, चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको थियो ।

सडकलाई दुलहीझै सिगारिएकोले बुटवलको रौनक नै बदलिएको अनुभू्ति गरेको दर्शकले बताएका थिए। महोत्सवमा तिनै दिन सहभागि हुनुभएका दर्शक, पत्रकार तथा स्थानीय बासिन्दा दीपक न्यौपानेले सडक खाना महोत्सवले यस क्षेत्रमा रौनक ल्याएको बताउँदै खानाको परिकारमा नयाँपन ल्याउनको बताउनुभयो।

अतिथि देवो भवः पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, ‘सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ सञ्चालित सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका थिए।

प्रतिक्रिया दिनुहोस्