भ्रमण वर्षको पहिलो दिनमै १० हजार पर्यटक



नेपाल समाचारपत्र, दोलखा।

अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन जनवरी १ मा दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा झन्डै छ हजार पर्यटक पुगेको स्थानीयले बताएका छन्। दोलखा जिल्लामा १० हजार बढी पर्यटक आएको तथ्यांकमा उल्लेख छ।

दोलखाको कालिञ्चोक, चरिकोट, दोलखा भीमेश्वर र जिरीमा समेत गरी अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ मा १० हजार पर्यटक भित्रिएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो।

दोलखा भित्रिएका यातायातका साधनहरू, होटलको संख्या र पर्यटक बसेको संख्या आदिको तथ्यांक हेर्दा दोलखामा अंग्रेजी नयाँ वर्षको पहिलो दिन १० हजारभन्दा बढी पर्यटक आएको देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो।

भ्रमण वर्ष २०२० को शुभारम्भसहित नयाँ वर्षमा पर्यटकलाई स्वागत गर्न भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा विविध सांस्कृतिक कार्यक्रम र स्ट्रीट फुड फेस्टिबलसहित किवि महोत्सवको आयोजना गरेको छ।

दोलखाबाट पहिलोपटक पहिचान तथा व्यवसायिक उत्पादन भएको किविको प्रवद्र्धन, प्रदेश तीनको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य दोलखामा भ्रमण वर्ष २०२० मा अत्यधिक पर्यटक भित्याउन र जिल्लाको मुख्य मुख्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि विविध सांस्कृतिक कार्यक्रम र स्ट्रीट फुड फेस्टिबलसहितको किवि महोत्सव आयोजना गरिएको नगरप्रमुख भरतबहादुर केसीले बताउनुभयो।

जिल्लाको सबै स्थानीय तहको सहयोग तथा जिल्ला समन्वय समितिको समन्वयमा सञ्चालन भएको साताव्यापी किवि महोत्सवमा किवि, सुन्तला, अन्य कृषि उत्पादन र हस्तकलाका सामानको स्टल रहने लालिगुराँस युवा क्लबले सांस्कृतिक कार्यक्रमसहित एक सातासम्म लाखेनाच प्रर्दशन गर्ने, राष्ट्रिय तथा स्थानीय कलाकारहरूले हरेक दिन साँझ सातदोबाटो चोकमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नगरप्रमुख केसीले बताउनुभयो।

पर्यटकलाई आकर्षित गर्न कालिञ्चोकमा रहेको झन्डै ५० वटा साना तथा ठूला होटलहरूले पनि सांगीतिक कार्यक्रम, क्याम फायर जस्ता कार्यक्रमहरू गरेको कालिञ्चोकको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो।

दोलखाको पर्यटकीय नगरी, सगरमाथाको प्रवेशद्वार जिरीमा पनि भ्रमण वर्ष २०२० को पहिलो दिन विविध कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा आन्तरीक एवं बाह्य पर्यटकको उल्लेख्य सहभागिता रहेको स्थानीय पत्रकार केन्द्रज्योती खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्