धुलिखेलमा स्तम्भ शिलान्यास



नेपाल समाचारपत्र, काभ्रे।

नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ। भ्रमण वर्षको शुभारम्भ गर्दै धुलिखेलमा पर्यटकलाई स्वागत गर्न नेपाल भ्रमण वर्षको स्तम्भ शिल्यान्यास गरिएको छ।

‘प्रदेश तहमा दुई वटा स्तभ निर्माण हुनेछन्, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले भन्नुभयो– ‘प्रदेश सरकारको ५ लाख र नगरपालिकाको ७ लाख रुपियाँ खर्चमा स्तम्भसहित पार्क निर्माण गरिनेछ।

अर्काे स्तम्भ मकवानपुरको कुलेखानीमा निर्माण हुनेछ।’ चीन र अमेरिकाबाट आएका विदेशी पर्यटकलाई धुलिखेलको पीपल चौतारीमा स्वागत गरिएको थियो। सोही सभामा बोल्दै अमेरिकाकी न्यान्सीले नेपाल सुन्दर रहेको बताउनुभयो।

‘म खुशी छु, सुन्दर देश नेपाल घुम्न पाएकोमा हर्षित छु, न्यान्सीले भन्नुभयो। प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, जिल्ला समन्वय समिति संयोजक उद्धव केसी, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, क्षेत्रीय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजुलगायतले पर्यटकलाई स्वागत गर्नुभएको थियो।

जिल्ला समन्वय समिति र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम धुलिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नयाँ वर्षको पहिलो दिन धुलिखेलको पीपलबोटमा नेपाल भ्रमण वर्ष २०२० स्मृति स्तम्भको शिल्यान्यास गरिएको छ भने शिल्यान्यासपछि आयोजित कोण सभामा जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, होटल व्यवसायी, उद्योगी तथा स्थानीयहरूले पर्यटन वर्षलाई भव्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

भ्रमण वर्षलाई भव्य रूपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग र सद्भावका साथै प्रतिबद्धता आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
सभाअघि धुलिखेलको अरनीको राजमार्गस्थित बसपार्कमा रहेको अरनीको सालिकबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टुकडीसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी रहेको स्थानीय धिमेबाजा, लाखेनाच, लामा/झाँकी, खैजेडी समुललगायत स्थानीय संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो।

र्याली धुलिखेल बसपार्क, अस्पताल चोक, पुरानो बजार, सरस्वती बजार हुँदै पीपलबोटसम्म पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले आफू संलग्न संस्थाको ब्यानरसहित कार्यक्रममा सहभागी भएका थिए। प्रभातफेरि दुई दिनअघि पौष १४ र १५ गते धुलिखेल नगर क्षेत्रको सरसफाइ गरिएको थियो।

होमस्टेमा स्वागत

भ्रमण वर्षको पूर्वसन्ध्यामा पनौतीमा रहेको नमस्ते सामुदायिक होमस्टे, पातलेखेतमा रहेको पातलेखेत सामुदायिक होमस्टे तथा जिल्लामा रहेका सबै होमस्टेहरूले पर्यटकहरूलाई भव्य स्वागत गरेका छन्।

‘भ्रमण वर्षको पूर्वसन्ध्यामा आएका पाहुना होम स्टेमा रमाउनुभयो, नमस्ते सामुदायिक होमस्टे पनौतीका अध्यक्ष संगीता श्रेष्ठले भन्नुभयो– ‘नेपाली संस्कृतिसहितको स्वागतमा उहाँहरू खुसी हुनुभयो।’

पातलेखेत सामुदायिक होमस्टेका अध्यक्ष केशव बडालले स्थानीय संस्कृतिअनुसार पाहुनालाई स्वागत गरेको बताउनुभयो। स्थानीयले पर्यटकलाई गरेको स्वागतले उहाँहरू खुसी भएको र आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने बताएको बडालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्