छाउपडी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारबाही गरिने



नेपाल समाचारपत्र, बुटवल।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मानव कलंकका रूपमा रहेको छाउपडी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारबाही गरिने बताउनुभयो।

मुलुकका केही जिल्लामा अझै पनि छाउपडीका घटना रहेका छन् भन्दै कानुनले अपराध मानेको विषयलाई कडाइका साथ व्यवहारमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभयो।

उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवनको मंगलबार शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले महिलालाई सबैभन्दा सुरक्षित स्थानमा राख्ने समयमा गोठमा सताउने विषय लज्जास्पद भएकाले यसलाई अपराध मानिएको र कानुनमा समेत व्यवस्था गरिएको बताउनुभयो।

उहाँले छाउपडी जानु पनि अपराध हो, पठाउनु पनि अपराध भएकाले जाने र पठाउने दुवैलाई कडा कारबाही गर्ने गरी कानुन निर्माण भएको बताउनुभयो।

सरकारी कर्मचारी भए त्यसलाई थप बढी कारबाही गरिनेसमेत उहाँले जानकारी दिनुभयो। ‘छाउपडी अन्धविश्वास र कुरीति हो,’ उहाँले भन्नुभयो– ‘कानुनले त्यसलाई छुट दिएको छैन। कडाइका साथ पालना गर्न निर्देशन दिएको छु।’

संविधानले ल्याएको परिवर्तनको अनुभुति १०÷१५ वर्षपछि मात्र ऐनामा झै स्पष्ट देखिने भन्दै उहाँले रगत बगाएर ल्याएको संविधानलाई कार्यान्वयन गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

संविधानमा कमजोरी रहेका छन् भने संशोधन गर्न पनि सकिने धारणा राख्नुभयो। कानुन कार्यान्वयन गर्ने निकायलाई लक्षित गर्दै उहाँले सानालाई ऐन ठूलालाई चयन भन्ने भनाइलाई समाप्त पारेर सबैलाई चैन हुने गरी काम गर्न आह्वान गर्नुभयो।

उच्च सरकारी वकिल कार्यालय बुटवलको कार्यालय भवन ७ तलाको हुने र ५ करोड ५९ लाखमा निर्माणका लागि रोयल कन्स्ट्रक्सन धनगढीले ठेक्का पाएको छ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उच्च सरकारी वकिल कार्यालय बुटवलका निमित कार्यालय प्रमुख मोहनसागर बस्यालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्