स्वयमसेवी युवाको कोसिस अभियान

0
Shares

महेश न्यौपाने, रोल्पा।

समाज सेवाको भावनाले काम गर्ने गरी रोल्पाका युवाहरूले कोसिस अभियान सञ्चालन गरेका छन्। सत्प्रयास मिडिया ग्रुपमार्फत सञ्चालन गरेको अभियानमा बालविवाह, मादक पदार्थ सेवन, बालश्रम शोषणलगायत सामाजिक मुद्दाका साथै तनाव व्यवस्थापन, क्यारियर विकास एवम् सकारात्मक सोचजस्ता विषयमा अनुशिक्षण चलाउने भएको हो।

नितान्त स्वयमसेवी भावनाले काम गरिने बताइएको छ। ‘सम्बन्धित क्षेत्रका विज्ञको सहयोगमा अभियान सञ्चालन गरिरहेका छौं,’ अभियान्ता खेम बुढामगरले भन्नुभयो– ‘अभियानमा संलग्नहरू विभिन्न पेशा व्यवसायमा रहे पनि सामाजिक उत्तरदायित्वको रूपमा आवश्यकता अनुसार सेवा गर्छौं।’

कार्यक्रममा वित्तीय वा भौतिक सहयोगलाई भने स्वीकार नगरिने बुढामगरले जानकारी दिनुभयो। अभियानमा ईन्जिनियर, पत्रकार, स्वास्थ्यकर्मी, मनोविमर्शकर्ता र अन्य सामाजिक अभियान्ताहरूको स्वतःस्फूर्त सहभागिता रहेको बताइएको छ।

अभियानले सामाजिक मुद्दामा आधारित रेडियो कार्यक्रम उत्पादन र प्रशारण गरिरहेको छ। उत्पादन गरिएका सामाग्री जिल्लाका तीन वटा सामुदायिक रेडियोबाट प्रशारण हुन्छ अभियान्ता कुलबहादुर डाँगीले बताउनुभयो।

‘जिल्लामा रेडियोको पहुँच बहुसंख्यक नागरिकमा रहेका कारण रेडियो कार्यक्रमसमेत साथसाथै लगेका छौं,’ डाँगीले भन्नुभयो– ‘सामुदायिक रेडियोहरूको समेत अभियानमा सकारात्मक सहयोग हुँदा १ सय भाग पुरा गरी भईसकेको छ।’ रेडियोबाट सो कार्यक्रम साप्ताहिक रूपमा प्रसारण हँुदै आएको छ।

अभियानको सिलसिलामा सो समूह जिल्लाका विभिन्न विद्यालय, स्थानीय तह तथा आमा समूहमा समेत पुग्ने गरेको छ। ‘कार्यक्रम सञ्चालनका लागि कतिपय ठाउँबाट आग्रह गरिन्छ त कतिपय ठाउँमा आवश्यकता महसुस गरी आफैं जाने गरेको उहाँले बताउनुभयो।

अभियानले विगत ३ वर्ष यता एसईई दिने विद्यार्थीहरूलाई क्यारियर विकास सम्बन्धी अनुशिक्षणसमेत गरेको थियो। डाक्टर, ईन्जिनियर, न्यायाधीश, प्राध्यापक, पत्रकारहरूले त्यस्ता कार्यक्रममा आफ्नो अनुभव सुनाउने गर्दछन।

विद्यार्थीहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षण गराउन यस्तो अनुशिक्षणले सहयोग गरिरहेको अभियान्ता ईन्जिनियर मुकेश कुँवरले जानकारी दिनुभयो। एसएलसी पछि के पढ्ने भन्ने अन्यौल रहेका विद्यार्थीहरू यसबाट लाभान्वित भएका छन् ईन्जिनियर कुँवरले भन्नुभयोे।

अभियानले पैसा खर्च नगरेर पनि धेरै कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिएको पत्रकार उमा केसीको प्रतिकृया छ। आफूसँग भएको क्षमता दक्षतालाई स्वयमसेवी भावनाले हस्तान्तरण गर्ने कार्यले सामाजिक विकासमा टेवा पुर्याइरहेको उहाँले बताउनुभयो।