शिवांश बचाऔं अभियानमा १ लाख ५२ हजार संकलन



नेपाल समाचारपत्र, बैतडी।

२ महिने बालक ‘शिवांश बचाऔं अभियान’ अन्र्तगत दुई दिनमा १ लाख ५२ हजार बढी संकलन भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि शुरु भएको अभियानमा सोमबारसम्म उक्त रकम संकलन भएको हो।

बालकको कलेजो प्रत्यारोपण गर्दा ५० लाख बढी खर्चभइसके पश्चात अवस्थीले सहयोगको अपिल गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ बैतडीका सदस्य तथा रेडियो निँग्लाशैनीका प्रबन्ध निर्देशक महेशप्रसाद अवस्थीका २ महिने छोरा शिवांशको कलेजो प्रत्यारोपण पश्चात गएको १ महिनादेखि भारतमा उपचार भइरहेको अभियानकर्ता महेश भट्टले जानकारी दिनुभयो।

गएको असोज २४ मा काठमाडौंको हेम्स हस्पिटलमा जन्मिएका शिवांशको १४औं दिनमा पेट फुलेजस्तो भएको र केही दिन काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरियो। शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि भारत लगियो।

शिवांशको त्यहाँ कलेजो प्रत्योरोपण गर्नुपर्ने देखिएको अभियान्ता भट्टले बताउनुभयो। बालकको कलेजो प्रत्यारोपण गर्दा ५० लाख बढी खर्च भइसकेपश्चात अवस्थीले सहयोगको अपिल गर्नुभएको थियो।

भारतको चेन्नईमा रहेको डा. रेला इन्ट्रिच्युट एण्ड मेडिकल सेन्टर लिभर ट्रान्सप्लान्ट हस्पिटलमा शिवांशका बुवा महेशले छोरालाई कलेजो दान दिएकोले उहाँ पनि हाल बेड रेस्टमा रहनुभएको छ। डाक्टरले अझै १ महिना अस्पतालमै बस्नुपर्छ भनेपछी उहाँले सहयोगको लागि हारगुहार गर्नुभएको बताइएको छ।

शिवांशको उपचारमा धेरै रकम लाग्ने भएकाले सहयोगी महानुभावहरूले महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सत्बाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जम्मा गर्न सक्नु हुने अभियान्ता भट्टले जानकारी दिनुभयो।

सहयोग संकलन गर्न पत्रकार महासंघले पहल गर्ने

यसैबीच शिवांश अवस्थीको उपचारका लागि नेपाल पत्रकार महासंघ बैतडीले पहल गर्ने भएको छ। महासंघको सोमबार बसेको बैठकले शिवांशको कलेजो प्रत्यारोपण गरिएको र आर्थिक सहयोग आवश्यक भएकाले महासंघका सबै शाखालाई सहयोगका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ।

यस्तै महासंघका उपाध्यक्ष अमरराज भट्टराईको संयोजकत्वमा ३० सदस्यीय आर्थिक सहयोग संकलन समिति पनि गठन गरेको छ।

महासंघका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा बसेको बैठकले शिवांशको उपचारका लागि सबै तहका सरकार, संघसंस्था र शुभेच्छुकहरूलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्