विद्युत् चुहावट नियन्त्रण गर्न स्थानीय सरकारसँग सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काभ्रे।

नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रको बक्यौता उठाउन, विद्युत् चोरी नियन्त्रण गर्न र काठका जीर्ण पोलहरू हटाई लाइन सुधार गर्न नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रसंँग पाँचखाल र मन्डनदेउपुर नगरपालिकाले लिखित सहमति गरेका छन्।

सहमतिपत्रमा नगरपालिका भित्रपर्ने विद्युत् प्राधिकरणका ग्राहकहरूले विद्युत् प्राधिकरणको ऐन र विनियम अनुसार विद्युत् महशुल तथा जरिवाना समयमा नतिरेमा नगरपालिका तथा वडा कार्यालयबाट पाइने सेवा सुविधा रोक्का गर्ने र विद्युत् महशुल समयमा तिर्न तथा विद्युत् चोरी नगर्नको लागि वडा कार्यालय तथा जनप्रतिनिधिमार्फत जनतालाई सचेत गराउने उल्लेख छ।

विद्युत् वितरण लाइन नपुगेर विद्युत् सुविधाबाट बन्चित रहेका घर तथा बस्तिहरूमा वितरण लाइन विस्तार गरी पूर्ण विद्युतिकरण भएको नगरपालिका बनाउन र जीर्ण अवस्थाका पोल तथा विद्युतीय संरचनाहरूलाई सुधार गर्न पाँचखाल वितरण केन्द्रले योजना बनाई कार्यान्वयन गर्ने बताएको छ।

विद्युत प्राधिकरणले सबै जनतालाई विद्युत् सुविधा पाउनेगरी बनाएको योजना अनुसार अति बिपन्न (मिटर किनेर विद्युत उपभोग गर्न नसक्ने) उपभोक्ताहरू र सांस्कृतिक महत्वका सम्पदाहरू पहिचान गरी नेपाल विद्युत् प्राधिकरणको तर्फबाट नयाँ निःशुल्क मिटर जडान गर्नका लागि नगरपालिकाले एक महिना भित्र विवरण उपलब्ध गराइ वितरण केन्द्रलाई बुझाउने छ।

वितरण केन्द्रले घरदैलो कार्यक्रम बनाई मिटर जडान गरिदिने छ। सहमति पत्रमा पाँचखाल वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख ई.मेघनाथ ढकाल तथा पाँचखाल र मन्डनदेउपुर नगरापालिकाको तर्फबाट नगर प्रमुख क्रमशः महेश खरेल र टोकबहादुर वाइवाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।

जिल्लाको सम्पूर्ण भूभागमा विद्युत् वितरण गर्दै आएको काभ्रे वितरण केन्द्र छुटिई पाँचखाल वितरण केन्द्र स्थापना भएको छ। पाँचखाल वितरण केन्द्रले २०७६ कार्तिक १ देखि पूर्णरूपमा विद्युत् वितरणसँग सम्बन्धित सबै कार्य गर्दै आएको छ।

काभ्रेपलान्चोक जिल्लाको दुई नगरपालिका पाँचखाल र मन्डनदेउपुर, तीन गाउँपालिका भुम्लु, चौरी–देउराली र तिमाललाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाई कार्य शुरु गरेको वितरण केन्द्रले सेवाग्राहीलाई विद्युत् सेवासँग सम्बन्धित जानकारी, प्रक्रियागत स्पष्टता, कार्य विभाजन अनुसार सम्पर्क गर्ने कार्यालय तथा कर्मचारी र केन्द्रका प्राथमिकता समेटेर तयार पारेको पुस्तिका ग्राहकलाई र स्थानीय तहमार्फत जनप्रतिनिधिलाई उपलब्ध गराउन शुरु गरेको छ।

दैनिक रूपमा विद्युत चुहावट रोक्न तथा बाँकी बक्यौता असुली गर्नको लागि जिम्मेवारी तोकि कर्मचारी खटाईएकाले विद्युत् चोरी भेटिने र कारवाही गर्ने काम दैनिक हुन् लागेको वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताउनुभयो।

विद्युत् चोरी तथा बक्यौता रकम समयमा नै तिरि अनावस्यक जरिवाना र झन्झटबाट मुक्त हुनका लागि चेतना जगाउने उद्देश्यले पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत पनि सूचना प्रकाशन गरिरहेकाले दैनिक महशुल तिर्न आउनेको भिड लाग्ने गरेको छ। दैनिक २/३ लाख संकलन हुने विद्युत् काउन्टरमा १५ लाखसम्म महशुल संकलन भएको बताइएको छ।