विपन्न, दलित, जनजाति विद्यार्थीलाई छात्रवृत्ति



नेपाल समाचारपत्र, सिन्धुली।

सुनकोशी गाउँपालिकाले प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ। छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि निर्माण गरेर आर्थिक रूपमा विपन्न, दलित, जनजाति, द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो।

इन्जिनियरिङ, कृषि भेटेनरी, वन र कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिइने गाउँपालिकाले जनाएको छ। आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीले प्राविधिक शिक्षा पढ्न वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो छात्रवृत्ति दिन थालिएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिङ मुक्तानले जानकारी दिनुभयो।

‘छात्रवृत्तिको आवेदन माग गर्दै हामीले सूचनासमेत प्रकाशन गरिसकेका छौं, उहाँले भन्नुभयो– ‘आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति, द्वन्द्वपीडित, सिमान्तकृत, लोपोन्मुख समुदायका बालबालिकालाई प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि न्यायोचित ढंगबाट छात्रवृत्ति दिन्छौं।’

यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकामा परेका आवेदनहरूको अध्ययन गर्न समिति गठन गरिएको र सोही समितिले आवेदनको अध्ययन गरेर कार्यविधिअनुसार छनोटमा परेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष मुक्तानले बताउनुभयो।

‘यो वर्ष १० लाख मात्रै बजेट छ,’ उहाँले भन्नुभयो– ‘छात्रवृत्तिका लागि गाउँपालिकामा कति निवेदन पर्छ र निवेदन परेकोमध्ये कति लागत लाग्ने विषयमा अध्ययन गरेको पाइन्छ।

त्यसको आधार हेरेर छात्रवृत्ति दिन्छौं।’ परिवारको आर्थिक अवस्था र अध्ययन गरेको विषयका आधारमा न्यूनतम २५ हजारदेखि १ लाखसम्म छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाको कार्यविधिमा उल्लेख छ


छात्रवृत्ति पाउनका लागि सुनकोशी गाउँपालिकाको स्थायी बासिन्दा भई गाउँपालिकाभित्र रहेका विद्यालयमा र बाहिरी जिल्लामा गएर प्राविधिक धारको विषयमा अध्ययन गरेका दुवैले छात्रवृत्ति पाउने कार्यविधिमा जनाएको छ।

उपाध्यक्ष मुक्तानले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण क्षमता कुण्ठिएर बसेका विद्यार्थीको क्षमता प्रस्फुटनका लागि छात्रवृत्ति दिन थालेको भन्दै यो निरन्तर रहेक वर्ष प्रदान गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्