१० करोड बढीको आलु



नेपाल समाचारपत्र, दोलखा।

शैलुङ गाउँपालिकाबाट मात्र वर्षमा १० करोडभन्दा बढी मूल्यको आलु उत्पादन हुने गरेको गाउँपालिकाले जनाएको छ। ८ करोड भन्दा बढी मूल्यको आलु उपत्यका तथा जिल्लामा बिक्री भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षमा मात्रै २१ हजार टन आलु राजधानीलगायत अन्य जिल्लामा गएको तथ्याङ्क गाउँपालिकासँग रहेको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो।

गाउँपालिकामा उत्पादित आलुको मूल्य प्रतिपाथी ३५ रुपियाँले हिसाब गर्दा पनि यो वर्ष ८ करोडभन्दा बढी मूल्यको आलु बाहिरिएको गाउँपालिका उहाँको भनाइ छ।

स्थानीयस्तरमा प्रयोग भएको र गाउँपालिकासँग तथ्याङ्क नरहेको समेत हिसाब गर्दा शैलुङ गाउँपालिकामा ३० हजार टनभन्दा बढी आलु उत्पादन भएको देखिएको र त्यसको मूल्य १० करोडभन्दा बढी हुने गाउँपालिकाको दाबी छ।

दोलखाको शैलुङ गाउँपालिका–१, वडा नम्बर ३, वडा नम्बर ६, र वडा नम्बर ८ मा प्रसस्त आलु उत्पादन हुने गरेको छ। राम्रो आलु उत्पादन हुने भएकाले देशैभरि शैलुङको आलु भनेर चर्चा हुने गरेको छ।

आलु शैलुङ गाउँपालिकाको मुख्य कृषि उत्पादन भएकाले गाउँपालिकाको तर्फबाट आलु उत्पादन हुने क्षेत्रमा प्राथामिकताका यातायतको सुविधा, मूल बिउ वितरण, कृषकलाई तालिम तथा प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गरिएको अध्यक्ष दुलालको भनाइ छ।

आलु प्रवद्र्धनका लागि विभिन्न निकायको सहयोगमा गाउँपालिकाले अहिले ५ वटा ठाउँमा चिस्यान केन्द्रको व्यवस्था गरेको र अहिले संघ सरकारको सहयोगमा गाउँपालिकाले ३ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण शुरु गरेको प्रमुख दुलालले जानकारी दिनुभयो।

पाँच करोडको लागतमा निर्माण हुने कोल्डस्टोरका लागि गाउँपालिकाले ५० प्रतिशत लगानी गर्ने जनाइएको छ। ३ सय मेट्रिक टन क्षमताको उक्त कोल्डस्टोरमा २ सय मेट्रिक टन आलु र बाँकी किवीलगायतका अन्य कृषि उत्पादनका वस्तुहरू स्टोर गर्न सकिने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्