हप्तामा एक दिन घरबाहिर खाना खाने संस्कृतिको विकास गरौं



नेपाल समाचारपत्र, बुटवल ।

बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरू भएको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो।

सडक खाना महोत्सवमा जातिगत रूपमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकाहरू सडकमै पकाएर खुवाइने भएकाले यस क्षेत्रको रौनक नै पृथक बनेको छ।

सडक खाना महोत्सवमा नेपाली जातिगत खानाबाहेक इ्िर्रन्डयन चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो।

अतिथि देवो भवः, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, ‘सडकमै खाऔं सडकमै नाँचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पुस १६ गतेसम्म सञ्चालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन्।

वडा नम्बर ९ कालिकापथको तीनकुनेदेखि शिवालय चोकसम्मको सडकको दायाँबायाँ सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ। तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने प्रचारप्रसार समितिका संयोजक बाबुराम गौतमले बताउनुभयो।

मूल समारोहमा सुजाता खीर र दहीको कडीलाई रुपन्देहीको सुईट डिसका रूपमा घोषणा गरिएको रहेको महासचिव माधवकुमार खनालले जानकारी दिनुभयो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांस्कृतिक कार्यक्रमसमेत रहनेछ। बुटवलको बैकल्पिक मानिएको योगीकुटी–पुरानो बसपार्क (कालिकापथ) सडक निर्माणको चरणमा भए पनि आयोजकले व्यवस्थित बनाउने प्रयास गरेका छन्।

सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताउनुभयो।

उहाँले बुटवलको खाना महोत्सवबाट हप्तामा एक दिन सपरिवार घरबाहिर गएर खाना खाने परिपार्टीको विकास गर्न जरुरी रहेको छ भन्दै त्यो गर्न सकेमा मात्र पर्यटनको विकास हुने र पर्यटन क्षेत्रमा लगानी बढने धारणा राख्नुभयो।

मुख्य मन्त्री पोखरेलले बुटवललाई पर्यटकीय हब बनाउने हो भने परम्परागत शैलीमा परिवर्तन गरी नयाँ स्वाद र पृथक आनन्दको अनुभूति बुटवल आउने पर्यटकले पाएको सन्देश दिन सक्नुपर्नेमा जोड दिनुभयो।

खाना पार्कमा विभिन्न खानाका परिकारसँगै साँस्कृतिक मनोरञ्जनसहितको व्यस्था मिलाउनुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्