राजमान आए सरसफाइ गरेर गए



नेपाल समाचारपत्र, बाँके।

कीर्तिपुरका राजमान मानव र सुशीला महर्जनको टोलीले सोमबार नेपालगन्जको सडक सरसफाई गरेका छन्। सरसफाई अभियान्ता राजमानको २० जनाको टोलीले बिहान करिब दुई घण्टा नेपालगन्जको सडकको सरसफाई गरेको थियो।

त्यसमा उपमहानगरपालिकाले भने कुनै संलग्नता जनाएको थिएन। एकाएक २० जनाको टोली आएर सडक सरसफाई गरेर गएका थिए। देशका विभिन्न शहरको सरसफाई अभियानमा निस्केको राजमान र सुशीलको टोलीले यसअघि पनि नेपालगन्जको सडक सरसफाई गरेको थियो।

यसअघि ७ दिन नेपालगन्जमा बसेका उनीहरूसँग यसपालि उपमहानगरपालिकाको समन्वय हुन सकेन। उनीहरू आफ्नै तरिकाले आएर सरसफाई गरेर गएका छन्।

आफैं खाद्यन्न बोकेको राजमानको टोली नेपालगन्जस्थित एक गैरसरकारी संस्थाको कार्यालयमा बसेको थियो। नेपालगन्जको सडक सरसफाई हुँदा सरसफाईमा काम गरिरहेको इन्प्रोक नेपाल र स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले साथ दिएको थियो।

सरसफाई गर्ने विशेष यन्त्र लिएर हिँड्ने राजमानको टोलीले सरसफाई गरिदिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयअगाडिको सडक सफा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्