व्यावसायिक सुन्तला खेतीबाट किसान लखपति



विमल विष्ट, डोटी ।

जोरायल गाउँपालिका–६ का सुन्तला किसान सुन्तला बेचेरै लखपति बनेका छन्। हिजो आज उनीहरूले व्यावसायिक सुन्तला खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । अहिले उनीहरूका लागि सुन्तला आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विगतमा पैसा कमाउनका लागि छिमेकी मुलुक भारत जाने परम्परा रहेपनि अहिले व्यवसायिक सुन्तला खेती गर्न थालिएपछि पैसा कमाउन भारत जानेको संख्यामा निकै कमी आएको स्थानीयबासीहरू बताउँछन्। आफ्नै बगैचामा फलेको सुन्तला बेचेर उनीहरूले रहर लाग्दो आम्दानी गरिरहेका छन् ।

उक्त वडामा थोरै सुन्तला बेच्ने किसानले पनि सिजनमा कम्तिमा पनि रु. १ लाखभन्दा बढी कमाउने गरेको जोरायल गाउँपालिका–६ का चित्रराज भट्टले बताउनुभयो। ‘थोरै सुन्तला बेच्नेले त कम्तिमा पनि एक लाखको कमाइ गर्छन, उहाँले भन्नुभयो–‘बढी सुन्तला भएकाले त्यो भन्दा बढी कमाउछन्।’

स्थानीय तीर्थ साउदले यस वर्ष रु १ लाख ५० हजार जतिको सुन्तला बोटमै बेच्नु भएको छ। अहिले पनि हरेक दिन घरैमा बसेर सुन्तला बेच्ने गर्नु भएको छ। ‘यो वर्ष ३ लाख भन्दा बढीको सुन्तला बेच्ने लक्ष्य थियो, उहाँले भन्नुभयो– ‘मौसम परिर्वतनले सुन्तला केही कम फल्यो, तैपनि ४०/५० हजारको सुन्तला बारीमै होला।’

सुन्तला बिक्रिका लागि छिमेकी जिल्ला कैलाली, कञ्चनपुरका विभिन्न बजारमा जानेगरेको स्थानीय सुरेन्द्र बोहराले बताउनुभयो। उहाँले भन्नुभयो–‘सुन्तला बिक्रि गर्न कतै जानै पर्दैन कैलाली, कञ्चनपुरका व्यापारीहरू बारीमै पुग्छन्।’

घरखर्चदेखि छोराछोरीको पढाइ खर्चको जोहो स्थानीयले सुन्तला खेती बाटै गर्न थालेका छन्। सुन्तला खेतीले हामीलाई राम्रै आम्दानी दिएको स्थानीय भिमदत्त भट्टले बताउनुभयो।

अहिले यहाँका सुन्तला किसानलाई आफ्नो बारीमा फलेको सुन्तला बिक्रि गर्न भ्याइ नभ्याइ भएको जोरायल गाउँपालिका–६ का स्थानीय लोकेन्द्र छेडालले जानकारी दिनुभयो।

गाउँमा सुन्ताल रु ८० देखि रु १ सय रुपियाँ प्रतिकिलोमा बिक्रि हुने गरेको स्थानीय बताउँछन्।सुन्तला खरिदका लागि व्यापारी बगानमै पुगेर टिप्ने र बजारसम्म पुर्याउने गरेका छन्।

पछिल्लोसमयमा सुन्तला कम फलेपछि मूल्य राम्रो पाएको स्थानीय किसान बताउँछन्। मौसम परिवर्तनका कारण यहाँको गर्मी हुने क्षेत्रमा सुन्तला कम फल्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्