भ्रमण वर्षको सुरसारै छैन



नेपाल समाचारपत्र, प्युठान।

नेपाल भ्रमण वर्ष शरू हुन अब १ दिनमात्रै बाँकी छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्याउने सरकारको लक्ष्य छ । तर, जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन्। कतै तयारीको छनक पनि छैन। प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको कामसमेत हुन सकेको छैन।

स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम शुरु गरेका छैनन्। जसका कारण लक्ष्य हाँसिल गर्नेमा शंका देखिन्छ। जिल्ला स्थित होटल व्यवसायी, उद्योगी व्यापारी, स्थानीय तह, पत्रकार लगायतसँग छलफल, बहस हुन् सकेको छैन। जिल्लामा कति स्थानको कुनकुन क्षेत्रलाई पर्यटक स्थलभन्ने र नयाँ खोजीसमेत भएको छैन।

तयारी गर्ने समय घर्किसक्दा पनि पर्यटन समितिसमेत नबन्दा पर्यटक आकर्षण गर्ने र त्यसलाई प्रवद्र्धधन गर्नेगरी अन्य कार्यक्रम हुन नसकेका हुन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृह कार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।

‘भ्रमण वर्षको प्रचारप्रसार हुनसमेत सकेको छैन,’ उहाँले भन्नुभयो– ‘यसलाई सार्थक बनाउन बृहत् योजना आवश्यक छ, तर अहिलेसम्म कुनै तयारी छैन ।’ भम्रण वर्षको तयारीमा ढिलाई भएको बताउँदै न्यौपानेले भन्नुभयो– ‘न पर्यटक लोभ्याउने ठोस काम हुन सकेका छन्, न पर्यटकलाई जाउँजाँउ घुमौंघुमौं लाग्ने खालका गतिविधि नै।’ होटल व्यावसायि संघ प्युठानका अध्यक्ष गञ्जबहादुर थापाले पनि अहिलेसम्म भ्रमण वर्ष केन्द्रित तयारी नभएको उहाँले बताउनुभयो।

भ्रमण वर्षसफल बनाउन होटल व्यावसायीसँग प्रतिबद्ध रहेको बताउँदै उहाँले पर्यटनलाई कला, संस्कृति र उत्पादनसँग जोड्ने गरी योजना अघिसार्न सुझाव दिनुभयो। सरकारले १ सय वटा गन्तव्य सूचिकृतगर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्वारीसहित झिमरुक गाउँपालिकाको ढाँडस्थित ‘रक’ गार्डेनलाई छानिएको छ।

गौमुखी, ऐरावतीसहितका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू प्रचारप्रसारको अभावमा ओझेलमा छन्। स्वर्गद्वारीसहितको गन्तव्य स्थललाई एकीकृत गर्दै पर्यटकीयस्थलको प्रवद्र्धन र पूर्वाधार विकास गर्न नसकिए पर्यटक भित्र्याउनसम्भव नहुने सरोकारवालाको एकमत छ।

उता जिल्ला समन्वय प्रमुख केशवराज आचार्यले पर्यटन वर्षलाई लक्षितगरेर जिल्लामा ‘विशेष’ तयारी गरिने बताउनुभयो। ‘पर्यटन वर्ष भव्यरूपमा मनाउने तयारी गरेका छौं, त्यसको लागि आन्तरिक तयारीमा जुटेका छांै, आचार्यले भन्नुभयो– ‘अब छिट्टै समिति बन्ने तयारीमा छौं, सरोकारवालाहरूसँग आवश्यक छलफल गर्छौं।

अब पर्यटन गन्तव्य पहिचान गरेर योजनाबद्ध रूपमा तयारी गर्छाँै।’ जिल्लाका नौ वटै स्थानीय तहलाई ‘भम्रण वर्षमा’ विशेष गतिविधि अघि बढाउन निर्देशनसमेत दिएको उहाँले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्