पत्रकार महासंघका जिल्ला अध्यक्ष राई पुरस्कृत



खोटाङ, (नेस)।

पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राइलाई ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पुरस्कार’ प्रदान गरिएको छ। पत्रकारिताका माध्यमबाट आम नागरिकलाई सुसूचित र सचेत गराउँदै देश तथा समाजमा योगदान पुर्याएको भन्दै राईलाई प्रेस संगठन नेपालले पुरस्कार प्रदान गरेको हो।

डेढ दशक अघिदेखि छापा, रेडियो र अनलाइन सञ्चारमाध्यममा आबद्ध रही निरन्तर क्रियाशील राईले समाज परिवर्तन र प्रगतिशील रूपान्तरणमा योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रेस संगठन नेपालले जनाएको छ। प्रेस संगठन नेपालको काठमाडौंमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा पत्रकार राईलाई नगद ५ हजार र कदरपत्र प्रदान गरिएको छ।

पत्रकार महासंघ खोटाङका अध्यक्षमा लगातार तेस्रो कार्यकाल सम्हालिरहनुभएका राईले यसअघि समेत विभिन्न संघ–संस्था तथा कार्यालयबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ। हाल, नागरिक राष्ट्रिय दैनिकमा आबद्ध राईलाई गत मंसिर २४ गते मात्र ‘छैटौं प्रदेश नम्बर १ मानव अधिकार पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्