मन्त्री गुरुङको पहलमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार



चिरञ्जीवी मास्के, दोलखा ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा दोलखा विगु गाँउपालिका वडा नम्बर ८ खोपाचाँगुकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

खोपाचाँगुकी १७ बर्षिय सुष्मा श्रेष्ठलाई सुत्केरी बेथा लागेको लामो समयसम्म पनि बच्चा नजन्मिए पछि खोपाचाँगु स्वास्थ्य चौकीले विहिवार विहान सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा रिफर गरेको थियो ।

श्रेष्ठको अवस्था चिन्ताजनक रहेकोले प्रस्तावित चरिकोट अस्पतालले तत्काल सल्यक्रिया गरी बच्चा निकालिएको थियो । तर अप्रेसन पछि विरामीको श्वास प्रश्वासमा समस्या भएपछि मन्त्री गुरुङको पहलमा हेलिकप्टरमा उद्दार गरी काठमाडौँ लगिएको हो ।

खोपाचाँगु स्वास्थ्य चौकीले रिफर गरी अस्पताल ल्याईएको विरामीको लामो समय बेथा लागिसकेको र बच्चा अड्कीएकोले आमा र बच्चाको अवस्थालाई ख्याल गरी तत्काल अप्रेशन गरी बच्चा निकालिएको तर अप्रेशन पछि विरामीको श्वास प्रश्वासमा समस्या देखिएपछि काठमाडौँ पठाउनु परेको प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो ।

विरामीको श्वास प्रश्वासमा समस्या भएकोले आईसियूमा राख्नु पर्ने अवस्था भएको तर प्रस्तावित चरिकोट अस्पतालमा आईसियू सेवा नभएकोले काठमाडौँ रिफर गर्नु परेको डाक्टर दंगालले बताउनु भयो ।

विरामीलाई तत्काल काठमाडौँ लानुपर्ने अवस्था भएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा हेलिकप्टर व्यवस्था गरी काठमाडौँ लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्