बैंकिङ क्षेत्रमा हड्ताल गर्न नपाइने



काठमाडौं, (नेस)।

बैंकिङ क्षेत्रमा अब कुनै पनि हड्तालजन्य कार्य गर्न नपाइने भएको छ।उच्च अदालत पाटनले बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगराउन। बुधबार अन्तरिम आदेश दिएको हो।

न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बैंकिङ कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ,‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु।’

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीहरूलाई हड्ताल गर्न निषेध गरिएको आदेशमा लेखिएको छ। यस्तै, हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको समेत उल्लेख गरिएको छ।

यसैबीच, नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी संगठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्