भ्रमण वर्षका लागि स्थानीय तहसँग योजना छैनन्



बैतडी, (नेस)।

सरकारले नेपाल भ्रमण वर्षको तिब्र रूपमा तयारी गरिरहे पनि बैतडीका स्थानीय तहसँग त्यसका लागि बजेट र योजना छैनन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरे पनि बैतडीका स्थानीय तहले बजेट र योजना नबनाएको हो।

बैतडीका स्थानीय तहले भ्रमण वर्षको लागि भने कुनै योजना र बजेट नछु्ट्याएको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले बताउनुभयो। गत वर्षका योजना पनि उधारोमा भएकोले उक्त रकम तिर्नलाई यस वर्ष ठिक्क हुने हुनाले भ्रमण वर्षको लागि कुनै बजेट नछुट्याएको उहाँले बताउनुभयो।

शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले पनि भ्रमण वर्षकै लागि भनेर कुनै योजना नबनेको जानकारी दिनुभयो।  यस्तै पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकासँग भ्रमण वर्षलाई प्रभावकारी बनाउन योजना नभएको बताईएको छ।

जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। तर ती धार्मिक तथा पर्यटकीय स्थलहरूका भ्रमण वर्षमा पर्यटक पुर्याउन स्थानीय सरकारले चाँसो दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको भनाई छ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन स्थानीय तहको ठूलो भूमिका हुन्छ। स्थानीय तहहरूले पर्यटनसम्बन्धी योजना बनाएर बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो।

बैतडीमा पर्यटकीय आकर्षणको मुख्य केन्द्र बिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर, निङ्लाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्