भ्रमण वर्ष सफल पार्न ट्राफिक सचेतना कार्यक्रम



नेपाल समाचापत्र, डोटी।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले ट्राफिक सचेतना र प्रचारात्मक कार्यक्रम शुरु गरेको छ। दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जु मलासी तथा जिल्ला प्रहरी प्र्रमुख दिलिपसिंह देउवाले बिहीबार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएकी नगर प्रमुख मलासीले भ्रमण वर्ष सफल पार्नमा ट्राफिक प्रहरीको पनि मुख्य भूमिका रहने भएकाले ट्राफिक प्रहरीसहित सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
‘भ्रमण वर्षभरीमा हामीले सडक र सवारीको मात्रै व्यवस्थापन गर्न सके निकै उपलब्धि हुने छ,’ उहाँले भन्नुभयो–‘सार्वजनिक बिदाका दिनमा चल्ने सरकारी सवारी साधनलाई नियन्त्रणमा लिन हुन्छ।’
जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग भयो भन्ने गुनासो आएको बताउदै उहाँले भन्नुभयो–‘बिदाका दिन विना अनुमती सरकारी गाडी चलाएको पाइए नियन्त्रणमा लिएर कारबाही गर्नुहोस्, त्यसको जिम्मेवारी म लिन्छु।’
त्यस्तै कार्यक्रमका सभापति तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवाले भ्रमण वर्षमा मात्रै नभएर प्रत्येक दिन सबैले ट्राफिक नियम पालना गर्नु पर्ने बताउनुभयो।

‘ट्राफिक नियम दिन, वर्षभनेर हुँदैन सधंै सबै सचेत नागरिकले नियमको पालना गर्नु पर्छ, उहाँले भन्नुभयो–‘नियम विपरीत गर्नेलाई कारवाही हुने छ।’
जिल्ला ट्राफिक कार्यालयले विभिन्न ठाउँमा भ्रमण वर्ष २०२० तथा ट्राफिक प्रचारात्मक होडिङ बोर्ड राख्न शुरु गरेको छ। ‘हाम्रो सडक राम्रो सडक, सुरक्षित यात्राको लागि ट्राफिक नियमको पालना गरौं, नगरौं सामना’ भन्ने सचेतनात्मक नाराहरू सहित अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार सन्देशमूलक सामाग्रीहरू सार्वजनिक स्थल र पर्यटकीय क्षेत्रमा राखिने छन्। ‘भ्रमण वर्षलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं भन्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेका छौं, प्रमुख खड्काले भन्नुभयो–‘ट्राफिक सचेतना पनि सँगसँगै अगाडी बढाएका छौं, नियमको सबैले पालना गर्नु जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्