इलाममा भ्रमण वर्षको तयारी तीव्र



गणेश घिमिरे, इलाम ।

सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ शुरू हुन अब केही दिन मात्र बाँकी छ। देशमा २० लाख बाह्य पर्यटक भित्याउने गरी सरकारले भ्रमण वर्षलाई सफल बनाउन सक्रिय भइरहेको छ। यसै क्रममा प्रदेश नम्बर १ को प्रमुख पर्यटकीय जिल्ला इलाममा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारसहित सरोकारवाला निकायहरू लागी परेका छन्।

कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको इलाममा दश वटा स्थानीय तहले आ–आफ्नो ढंगबाट तयारीलाई तिव्र बनाएका छन्। ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउने गरी जिल्लामा विभिन्न कार्यक्रमहरू भइरहेको जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले बताउनुभयो।

कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको इलाममा दश वटा स्थानीय तहले आ–आफ्नो ढंगबाट तयारीलाई तिव्र बनाएका छन्। ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउने गरी जिल्लामा विभिन्न कार्यक्रमहरू भइरहेको जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले बताउनुभयो। उहाँका अनुसार पुष १६ गते भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने गरी काम थालेको प्रमुख बरालको भनाइ छ।

उद्घाटन कार्यक्रम इलाम र झापाको प्रमुख सीमावर्ती रोङ गाउँपालिकाको जोरकलशमा गरिने भएको छ। यसै क्रममा रोङ गाउँपालिकाले प्रचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रमलाई तीव्र बनाएको गाउँपालिका अध्यक्ष शमशेर राईले बताउनुभयो।

भ्रमण वर्ष सफल बनाउन आर्थिक विकास समितिका संयोजक मात्रिका बरालको अध्यक्षतामा भ्रमण वर्षको तयारी समिति निर्माण गरी गाउँपालिकाले काम गरिरहेको छ।

उद्घाटनमा गाउँपालिकाले जोरकलसदेखि रोङ गाउँपालिकाको केन्द्रसम्म झाँकीसहितको र्याली आयोजना गर्नेछ। यस्तै गाउँपालिकाको केन्द्रदेखि नजिकै रहेको पाथिभरा मन्दिरसम्म पदयात्राको कार्यक्रम तय गरिएको अध्यक्ष राईको भनाइ छ। भ्रमण वर्षको उद्घाटनपश्चात स्थानीय तहका केन्द्रमा दीप प्रज्वलन, पर्यटकीय स्थलमा सरसफाइ कार्यक्रमसमेत गरिनेछ।

जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा पर्यटन वर्ष २०२० को जिल्लास्तरीय समितिसमेत गठन भइसकेको छ। यस समितिमा स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटन क्षेत्रका अगुवा रहेका छन्। यस्तै जिल्लाको अर्को पर्यटकीय गन्तव्य सन्दकपुरमा पनि विभिन्न कार्यक्रम गरिने सन्दकपुर गाउँपालिकाले जनाएको छ।

भ्रमण वर्ष अवधिभर सन्दकपुर गाउँपालिका क्षेत्रको पर्यटकीय स्थलको परिचायात्मक तस्वीर नेपालका मुख्य मुख्य सहरमा राखेर प्रचारप्रसार गर्ने, पर्यटकीय स्थलमा राष्ट्रिय झन्डोतलन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो।

भ्रमण वर्षकै अवसरमा सन्दकपुरमा पस १९ गते विद्युतीकरणको घोषणा गरिने भएको छ। चैत्र र वैशाख महिनाको बीचमा सन्दकपुर महोत्सव गर्ने तयारीसमेत गरेको बताइएको छ। भ्रमण वर्षलाई सफल बनाउन इलाम नगरपालिकाले पनि नगर प्रमुखको नेतृत्वमा नगरस्तरीय समिति निर्माण गरेको छ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटन सम्बन्धिका पूर्वाधार निर्माणलाई तीव्रतासमेत दिएको छ। नगरपालिकाले भ्रमण वर्षको अवसरमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गर्ने, शंखधर साख्वाको प्रतिमा राख्ने, नेपाली चियाको पहिलो रोपण गर्ने गजराजसिंह थापाको प्रतिमा राख्ने काम अघि बढाएको छ।

बौद्ध पार्कमा बुद्धको प्रतिमा राख्ने, अरनिको संग्रहालयमा कलाकार अरनिको प्रतिमा राख्ने भएको छ। जिल्लाको देउमाई नगरपालिकाले भ्रमण वर्षको अवसरमा गुफाथुम्की, पानीटार, सिद्धिथुम्का चुली र कुइभीरसम्मको पदमार्ग गर्ने र पानीटारमा तीनदिने महोत्सव सञ्चालन गर्ने योजना बनाएको छ।

जिल्लाकै अर्को पर्यटकीय स्थल माङसेबुङ गाउँपालिकाको माङसेबुङ, माङमालुङ, गजुरमुखीलगायतका क्षेत्रमा मोटरसाइकल र्यालीको आयोजना गर्दै प्रचारप्रसारलाई तीव्रता दिने योजना बनाएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिंगोले बताउनुभयो। यस्तै जिल्लाका अन्य स्थानीय तहहरूले पनि आआफ्नो ढंगबाट भ्रमण वर्षलाई सफल बनाउन लागि परेका छन्।

पर्यटनसँग सम्बन्धित कार्यालयमा योजना र बजेट छैन

पर्यटनकै क्षेत्रमा काम गर्ने सरकारी कार्यालय मेची पहाडी पर्यटन विकास समिति इलामले भने भ्रमण वर्षलाई लक्षित गरेर केही कार्यक्रम नभएको जनाएको छ। समितिका योजना प्रमुख सञ्जिव पौडेलले कर्मचारीले साउन महिनादेखि नै तलब खान नपाएको गुनासो गर्नुभयो।

उहाँले समितिका कर्मचारीले तलबसमेत नपाएको अवस्थामा भ्रमण वर्षलाई लक्षित गरेर माथिल्लो निकायबाट हालसम्म कार्यक्रम र बजेट नआएको बताउनुभयो। इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर समितिले पर्यटन सम्बन्धी काम गरिरहेको र यी जिल्लाहरूका पर्यटकीय स्थलमा विभिन्न संरचनाहरू भने निर्माण गरेको जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्