चोरिएरै सकिए पोलका डस्टबिन



हेटौंडा, (नेस)।

हेटौंडा उपमहानगरपालिकाले करिब तीन वर्षपश्चात् हेटौंडा बजार क्षेत्रमा राखेको डस्टबिन चोरी भएका छन्। उपमहानगरपालिकाले डस्टबिन राख्ने योजनासहित नयाँ ढंगले बिजुलीको पोलमा झुन्ड्याएर ‘पैदलयात्रीको फोहोरमात्र मलाई’ भन्दै करिब ६ महिनाअघि सञ्चालनमा ल्याएको थियो। हाल पोलहरूमा डस्टबिनका अड्याउन बनाइएको फलामे रडमात्र भेटिन्छन्।

करिब ३ वर्षअघि नगरपालिकाले हेटौंडा बजारमा व्यापारी तथा घरबेटीका कारण विभिन्न समस्या आइपरेपश्चात् डस्टबिन हटाएको थियो। जेठमा पैदलयात्रुले डस्टबिन माग गरेसँगै नगरपालिकाले माग सम्बोधन गर्दै नयाँढंगले डस्टबिन पुनः सञ्चालनमा ल्याएको थियो।

पहिलो पटक डस्टबिन बजार क्षेत्रका भुईंमा फलामे डन्डीमा राखेर ‘फोहोर मलाई’ भनिन्थ्यो भने हालको बिजुलीको पोलमा झुन्ड्याएर ‘पैदलयात्रीको फोहोरमात्र मलाई’ भनेर राखिएको छ।

करिब ७० हजार लागतमा उपमहानगरले हेटौंडाको कान्तिराजपथ, पारिजातपथ, सानोपोखरा, हुप्रचौर, बसपार्कलगायत बजारका भित्री सडकका पोलहरूमा पैदलयात्रुका लागि राखिएको डस्टबिन चोरी भएको उपमहानगरपालिकाका वातावरण महाशाखा शाखा अधिकृत ध्रुव भुजेलले बताउनुभयो।

दुई सय थान डस्टबिन त्यस बेला एक पोललाई छाडेर राखिएको थियो। तर, राखिएका पोलमा एक दर्जन डस्टबिन पनि देख्न मुस्किल छ। भएका डस्टबिन राम्ररी प्रयोगमा आएको देखिन्छ। पैदलयात्रुले मात्र नभएर व्यापारी तथा घरबेटीले डस्टबिन प्रयोग गरेको सहज अनुमान गर्न सकिने स्थानीयको भनाइ छ।

‘व्यापारी आफंैले डस्टबिन राखे सहज हुने थियो, अधिकृत भुजेलले भन्नुभयो– ‘नगरपालिकाको प्रणालीमा ‘पैदलयात्रीको फोहोर मलाई’ भनेर स्लोगनसहित राखेको डस्टबिन प्रभावकारी हुन नसकेको छैन्।’

यस कार्यलाई नियमितरूपमा सफल पार्न महिनामा एकपटक डस्टबिन राखिएको ठाउँ अनुगमनका लागि जाने भनिएको थियो। तर, नगरपालिकाले अनुगमनमा लापर्बाही गरेको पनि उहाँले स्वीकार गर्नुभयो। ‘अब हामी यसलाई सुधार्दै लानेछौं, अनुगमनसमेत हुनेछ, उहाँले भन्नुभयो– ‘चोरी भएका ठाउँमा नयाँ डस्टबिन राख्छौं।’

वैशाख २५ गते ‘सोच बदलौं, देश बदलिन्छ’ स्वच्छ हेटौंडा सफा हेटौंडा अभियानअन्तर्गत साकार शिवाकोटीको नेतृत्वमा युवाले नगर उपप्रमुख मीना लामासँग डस्टबिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। त्यसकै पहलमा नगरपालिकाले डस्टबिन उपलब्ध गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्