सडक सुशासन कार्यदल गठन



सरोज यादव, विराटनगर।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ का उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा सुरक्षित यात्राका लागि सडक सुशासन कार्यदल गठन भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा आयोजना गरेको ‘सुरक्षित यात्राका लागि सडक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका बीच १६ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय इटहरी, प्रदेश ट्राफिक कार्यालय प्रमुख, मोरङ प्रशासन, यान्त्रिक कार्यालय इटहरी, संघीय सडक डिभिजन कार्यालय मोरङ, यातायत मजदुर संघ, उपभोक्ता हकहित संरक्षण, प्रदेश पत्रकार महासंघ, हिसान, प्याब्सन तथा ऐन प्याब्सनका प्रतिनिधिहरू सदस्य छन्।

गठित कार्यदलले सडक दुर्घटनासम्बन्धी मुख्य समस्याहरू पहिचान गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्न अवलम्बन गरिनपुर्ने सुझाव दिने र सरोकारवाला निकायहरूको भूमिकासहित सुझाव कार्यान्वयन कार्ययोजना मन्त्रालयमा १० दिन भित्र पेश गर्ने भएको छ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनालाई न्यूनीकरण गरी सडक सुशासन कायम गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढेको बताउनुभयो।

सडक दुर्घटना हुने कारण पत्ता लगाएर न्यूनीकरण गर्न प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडि बढेको मन्त्री कार्कीले भनाई छ। ‘सडकमा भइरहेका दुर्घटनाले अहिले पनि १७औं शताब्दीतिरै रहेको देखाउँछ, मन्त्री कार्कीले भन्नुभयो– ‘यो राज्यका लागि ज्यादै लज्जाको अवस्था हो।

अब यस्तो अवस्थाबाट हामी बाहिर आउनुपर्छ।’ अबको १० दिनभित्र प्रदेश सरकारले सडक सुशासनका लागि ठोस कार्यक्रम अघि सारेर लागू गर्ने मन्त्री कार्कीको भनाइ थियो।

सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरोकारवालहरूलाई छलफलमा बोलाइएको थियो। सरोकारवालाहरूबाट निस्किएको निश्र्कषलाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो।

यातायात व्यवसायी, यातायात कर्मचारी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघहरू, सामाजिक क्षेत्रका सबै सरोकारवाला उपस्थित कार्यक्रममा मन्त्री कार्कीले छलफलबाट प्राप्त निष्कर्षलाई प्रदेश सरकारले कानूनी रूप दिएर सडकमा लागू गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमप्रसाद दाहालले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा प्रदेशमा ६ सय १३ वटा दुर्घटना भएकोमा १ सय ४९ जनाको र्दुघटनामा परेर मृत्यु भएको जानकारी दिनुभयो।

‘१ सय ४२ जना घाइते भएका छन्, उहाँले भन्नुभयो– ‘दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ।’ दुर्घटना भएका मध्ये ४६ प्रतिशत चालकको लापरबाही र ४० प्रतिशत सडकको अवस्थाले र अन्य विभिन्न कारणले दुर्घटना भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्