प्रमुख नहुँदा कामकाज ठप्प



नेपाल समाचारपत्र, प्युठान।

जिल्लाको माण्डवी गाउँपालिकास्थित सडक डिभिजन कार्यालयमा भण्डै एक महिना दिनदेखि कार्यलय प्रमुखविहीन बनेको छ। कार्यालयमा प्रमुख नहुँदा सडक निर्माण तथा मर्मतका कार्य ठप्प भएका छन्।

प्युठानसहित रोल्पा जिल्लासमेत हेर्ने गरी नियुक्त भएका सडक डिभिजन कार्यालय प्रमुख र इन्जीनियर नहुँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित बनेका हुन। श्रोतका अनुसार निमित्तको जिम्मेवारीसमेत कसैलाई दिइएको छैन।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन सेवाग्राहीबाट घूससहित रंगेहात पक्राउ परेपछि कार्यालयबाट सम्पादन हुने दैनिक काम कारबाही प्रभावित भएको हो।

‘कार्यालय कुरेर बसिरहेका छौँ, कार्यालय प्रमुख नहुँदा आयो हाजिर गर्यो गयो, कार्यालयका अधिकृत लोकराज थापाले दैनिकी सुनाउँदै भन्नुभयो– ‘कार्यालयमा कामकाज लिएर आएका सेवाग्राहीले सेवा नपाउँदा हामीसँग गुनासो गरेर फर्कन्छन्।’ ‘हाकिम साव’ र इन्जिनियर पक्राउ परेपछि सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको उहाँले सुनाउनुभयो।

सडक डिभिजनलाई विकास निर्माणको कार्यालय मानिए पनि प्रदेश र संघअन्तर्गतका कार्यालयका ४७ जना कर्मचारी कामविहीन बनेका छन्। जिल्लामा सडक विस्तार तथा मर्मत सुधारलगायतका पूर्वाधारको काम सम्पादन गर्ने कार्य क्षेत्र यसै कार्यालयलाई तोकिएको छ।

इन्जिनियर एवं कार्यालय प्रमुख नहुँदा सडक र पुल निर्माणका कामले गति लिन सकेको छैन।आउँदो जेष्ठ २३ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्पूर्ण निर्माण कार्य कार्यालय प्रमुख र इन्जिनियर अख्तियारमा परे पश्चात् निर्माण कार्य अलपत्र भएको निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले बताउनुभयो।

‘भएका निमित्त प्रमुख, सब इन्जिनियरबाट पनि कुनै खालको रेस्पोन्स छैन, उहाँले भन्नुभयो– ‘विकास निर्माणजस्तो अत्यन्त सम्वेदनशील कार्यमा सरकारले बेवास्ता र खेलबाड गरिनु ठीक होइन।’

श्रेष्ठ प्रश्न गर्दै भन्नुहुन्छ– ‘समयमा काम सम्पन्न नहुनु, काम गुणस्तर नहुनु, हर्जनालगायतका निर्माण व्यवसायिलाई पर्ने समस्याको जवाफदेही को हुने ?’ छिटोभन्दा छिटो कार्यालय प्रमुखको व्यवस्था हुनुपर्ने भन्दै उहाँ कार्यलय प्रमुखको माग गर्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्