तिरखडेनीमा लिफ्ट प्रणालीबाट सिंचाई



बैतडी, (नेस)।

दशरथचन्द नगरपालिका–१० तिरखडेनीमा महाकाली नदीको पानी तानेर सिंचाइ गरिने भएको छ। लिफ्ट प्रणालीबाट नदीको पानी तानेर गाउँमा पुर्याउने कार्य शुरु भएको हो।

दक्षिण एसियाली सीमा नदीहरूको पानीको सदुपयोग सामुदायिक परियोजना (ट्रोसा) र दशरथ चन्द नगरपालिकाको संयुक्त लगानीमा सिंचाइ योजना निर्माण हुन लागेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो।

सो योजनाबाट तिरखडेनीका दुई सयबढी घरपरिवार लाभान्वित हुने बताइएको छ।नदीबाट १ सय ७५ मिटर उचाइमा पानी तानेर पोखरीमा जम्मा गरिने र त्यसपछि सिंचाइका लागि वितरण गरिने निर्देशक जोशीकोे भनाइ छ।

सिंचाइको अभावमा सीमा क्षेत्रको जमिन बाँझो रहेकाले सिंचाइ सुविधा पुर्याउनका लागि सो योजना शुरु गरिएको हो। करिब १८ लाखको लागतमा योजना निर्माण कार्य सम्पन्न हुने बताइएको छ।

गाउँमा सिंचाइ सुविधा पुर्याएर तरकारी खेतीमार्फत स्थानीयहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य रहेको रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्