मेलौली नगरपालिकाको बजेट ५२ करोड ४१ लाख



नेपाल समाचारपत्र, बैतडी।

मेलौली नगरपालिकाको पाँचौं नगर सभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपियाँको बजेट सार्वजनिक गरेको छ। गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजना हेरफेर गरी बजेट पारित गरिएको हो।नगरपालिकाको पाँचौं नगरसभाले चालू खर्चमा व्यापक कटौती गरेर विकास खर्च बढाएको उपप्रमुख राधा ओझाले बताउनुभयो।

गत असारमा नगरपालिकाले ३७ करोड ६५ लाख ७९ हजारमा सामाजिक सुरक्षा, संघीय अनुदानलगायतका शीर्षक थपेर बजेटको आकार बढाएको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो।

‘हामीले नगरपालिकाको आवश्यकताअनुसार बजेटमा थपघट गरेका छौं, उहाँले भन्नुभयो– ‘कार्यपालिकाबाट सबै सदस्यबीच छलफल गरेर संशोधित बजेट पारित गरेका हौं।’

नगरपालिकाभित्र भौतिक पूर्वाधारका योजनालाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गरिएको प्रमुख प्रशसाकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘विकासमुखी बजेट निर्माण गरेर कार्यान्वयनमा लैजान तयारी गरेका छौं।’

नगरसभाले नगरपालिकाका लागि गाडी किन्न छुट्याएको बजेट पानी ट्यांकर खरीद गर्ने शीर्षकमा छुट्याएको छ भने बसपार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ।

यस्तै इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, इलाका प्रहरी कार्यालयलाई (क) श्रेणीमा स्तरोन्नति गर्नेलगायतका सार्वजनिक महत्वका निर्णय पनि पारित गरेको छ।

नगरपालिकाभित्र अनिवार्य अंग्रेजी शिक्षा

नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधारका लागि मेलौली नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा आधारभूत तहमा अनिवार्य अंग्रेजी शिक्षा लागू गर्ने भएको छ।

पहिलो चरणमा बालविकास र कक्षा १ मा अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ गर्ने नगरपालिकाले नीति लिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो।

‘सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण कम छ,’ उहाँले भन्नुभयो– ‘हामीले अंग्रेजी माध्यममा पढाइ गर्ने नीतिगत निर्णय गरेका छौं। यसका लागि बजेट पनि विनियोजन गरेका छौं।’

सामुदायिक विद्यालयका शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरेको उहाँले बताउनुभयो।नगरप्रमुख कृष्णसिंह नायकको अध्यक्षतामा सम्पन्न भएको पाँचौं नगरसभामा उपप्रमुख राधा ओझाले बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्