२०औं औद्योगिक व्यापार मेला   जनचेतनामूलक मोटरसाइकल र्याली प्रदर्शन



नेपाल समाचारपत्र, बुटवल।

उद्योग वाणिज्य संघ बुटवलको आयोजनामा बुधबारदेखि शुरू हुने २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को पूर्वसन्ध्यामा  जनचेतनामूलक मोटरसाइल र्याली प्रदर्शन गरिएको छ। र्यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो।
उहाँले बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्ने गरी सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो।सोही अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले मेलामा भएको तयारीको बारेमा जानकारी गराउँदै नयाँ मेला सञ्चालन गर्न लागिएको ठाउँ पनि भएको छोटो सयमका बीच पनि तयारीका काम पूरा गरिएको बताउनुभयो।
मेलास्थल बुटवल–११ देवीनगरबाट शुरू गरिएको जनचेतनामूलक मोटरसाइकल र्याली योगीकुटी, राजमार्ग चौराहा, वेसक्याम्प, सिद्धेश्वर स्कुल, मिलनचोक, अस्पताललाइन, गोलपार्क, जेसीसचोक, संगमपथ ट्राफिकचोक, महेन्द्र पार्क, नेपालगन्ज रोड हुँदै बेलबास, शान्तिचोक, बदेलपोखरी, नयाँगाउँ, तामनगर, सेमलार, मैनैया, फर्साटिकर, मोतिपुर पत्थरगन्ज, बुद्धनगर, देवीनगर हुँदै मेलास्थल आएर सकिएको र्याली व्यवस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी दिनुभयो।
मेलाको तयारीको काम सबै सकिएको र बिहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका महासचिव तथा मेला सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
त्यस्तैगरि मेलाको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रदेश–५का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी, प्रदेश सभा सदस्यहरू, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तथा पदाधिकारीसमेत सहभागी हुने कार्यसम्पादन उपसमितिका उपसंयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्