सवारी दुर्घटना बढेपछि प्रादेशिक समिति



नेपाल समाचारपत्र, हेटौंडा।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटना बढेको भन्दै सरोकारवालासँग छलफल गर्नुभएको छ। दुर्घटना न्यूनिकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुभएको हो।
छलफलमा सवारी दुर्घटना न्यूनिकरण र व्यवस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति गठन गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेव भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयका प्रतिनिधि रहने गरी समिति निर्माण गरिएको हो। समितिलाई ७ दिनभित्र लागू गर्न सकिने प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ।

कार्यक्रममा दुर्घटना तथा सवारी दुर्घटनामा तीनपांग्र्रे सवारी तथा पार्किङ व्यवस्थापन, पुराना सवारीसाधन व्यवस्थापन, रुट परमिटलगायत अन्य विषयमा छलफल भएको थियो।
छलफलका क्रममा उहाँले दुर्घटना न्यूनिकरणका लागि अधिकतम् प्रयास गर्न निर्देशन दिनुभयो। सवारी दुर्घटना न्यूनिकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो। छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाका कारण खोजेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपक निरौला सवारीसाधन दुर्घटनामा धेरै कारक हुने भएकाले यसलाई सुधार गर्दै अगाडि बढिने बताउनुभयो। हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नगरमा पार्किङ व्यवस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको भनाइ राख्नुभयो।
३ नम्बर प्रदेशमा मंसिर महिनामा मात्रै ५६ जनाको मृत्यु भएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक, धादिङ र मकवानपुरमा बढी सवारी दुर्घटना भएका छन्।

प्रतिक्रिया दिनुहोस्